इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा कुनै पनि बेला फेरि लडाइँ सुरु गर्न तयार रहेको बताएका छन् । जसका कारण हमास र इजरायलबीच युद्धविरामका लागि दोस्रो चरणको वार्ता हुनुको साटो फेरि युद्ध सुरु हुने खतरा बढेर गएको छ ।
मध्यपूर्वको गाजा सहरमा फेरि युद्धको बादल मडारिने संकेत देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजापट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको बताएसँगै मध्यपूर्वको शान्ति प्रक्रिया भड्किने संकेत देखिएको हो । उनले वार्ता वा अन्य माध्यमबाट युद्धका उद्देश्यहरू पूरा गर्नेसमेत बाचा गरेका छन् । यसअघि भएको युद्धविराम सम्झौता बमोजिम इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहाइ गर्नु पर्नेमा त्यसलाई रोकेको छ ।
जसले हमास र इजरायलबीच दोस्रो चरणको युद्धविरामका लागि वार्ता हुनुको साटो फेरि युद्ध सुरु हुने खतरा बढेर गएको छ । हमासले शनिबार ६ जना इजरायली बन्धक रिहा गरेको थियो । त्यसको बदलामा ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीहरू रिहाइ हुनुपर्ने हमासको सर्त थियो । तर इजरायलले ६ सय कैदीको रिहाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । यो निर्णयले पनि गाजा युद्धविराम प्रक्रियामा ठूलो असर पार्ने सम्भावना छ ।
शनिबार हमासले ६ जना इजरायली बन्धकहरूलाई रिहा गरेपछि इजरायलका प्रधानमन्त्री नेतान्याहुले अरु बन्धक हस्तान्तरण नभएसम्म प्यालेस्टाइनी कैदीहरूको रिहाइ रोक्ने घोषणा गरेका थिए । उनले हमासले युद्धविराम सम्झौता उल्लंघन गरेकाले इजरायल पछिल्लो निर्णय गर्न बाध्य भएको बताएका छन् ।
बन्धकहरू रिहा गर्दा हतियारधारी लडाकुले घेरेर आतङ्कित बनाएको र एक बन्धकको शव भनेर अज्ञात महिलाको शव बुझाएको भन्दै हमाससँग नेतान्याहु आक्रोशित छन् । हमासले पनि इजरायललाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहु नै युद्धविराम सम्झौता भङ्ग गर्न लागेको हमासको भनाइ छ । हमासका अनुसार इजरायल दोस्रो चरणको सम्झौताका लागि वार्ता गर्न अस्वीकार गर्दै पुनः युद्धतर्फ फर्कन खोजिरहेको छ । हमासका वरिष्ठ नेता बासेम नाइमले इजरायलले बारम्बार सम्झौताका सर्त उल्लंघन गरेको आरोप लगाएका छन् ।
नाइमले भनेका छन्, ‘हामी सम्झौताका हरेक बुँदामा प्रतिबद्ध छौँ, तर इजरायलले निरन्तर उल्लङ्घन गरिरहेको छ । यो सबै युद्धविराम भङ्ग गरेर पुनः युद्ध बढाउने षड्यन्त्र भइरहेको विश्लेषणसमेत हुन थालेको छ । इजरायली अधिकारीहरूले भने हमासको आरोप अस्वीकार गरेका छन् । हमास र इजरायलबीच दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकहरू रिहा गर्ने समझदारी बनेको थियो, जसले स्थायी युद्धविरामको सम्भावना पनि देखाएको थियो । तर पछिल्ला घटनाक्रमले दोस्रो चरणको युद्धविराम सम्झौता हुने सम्भावना अनिश्चित देखिएको छ । हमासले चेतावनी दिँदै भनेको छ ‘यदि इजरायलले सम्झौताको पालना नगर्ने हो भने युद्धविराम पूर्ण रूपमा भङ्ग हुन सक्छ ।
यता हमास समूहको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । उनी जीवित रहेको आशामा रिहाइका लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । तर, अहिलेसम्म उनको अवस्थाका बारेमा प्रस्ट जानकारी पाउन सकिएको छैन । गाजाको एक अस्पतालमा उपचार गराउँदै गरेको अवस्थामा विपिनको भिडियो देखिएको थियो । इजरायली सेनाले विपिनको परिवारलाई उक्त भिडियो देखाएको थियो । त्यसपछि भने उनको अवस्था अज्ञात छ । अब मध्यपूूर्वको शान्ति वार्ताका लागि मध्यस्थकर्ताहरूको कूटनीतिक पहल कसरी अगाडि बढ्छ ? त्यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ । तर केही समय रोकिएको युद्ध फेरि चर्किएमा भने भयानक र मध्यपूर्वको भविष्य संकटमा पर्ने स्पष्ट छ ।


प्रतिक्रिया