नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठक शनिबार सम्पन्न भयो । दुई दिनसम्म चलेको बैठकमा बहिष्कार गर्नेदेखि नेतृत्वसँग असन्तुष्ट हुनेसम्मको गतिविधिले माधव नेपालको पार्टीको भित्री मतभेद सतहमा ल्याइदिएको छ । साथै, माधव स्वयम् पनि पार्टीभित्रै घेराबन्दीमा परेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी निर्माण गरे पनि त्यसको जग कमजोर सावित हुँदै गएको छ । पार्टी निर्माणको साढे दुई वर्ष हुँदै गर्दा नेतृत्वबीच नै देखिएको मतभेद र नेता कार्यकर्तामा पनि असन्तुष्टि बढ्दै जाँदा माधवको डुङ्गा डुब्ने खतरा बढ्दै गएको देखिन्छ । अध्यक्ष माधवको सम्मानित नेता झलनाथ खनालसँगै जबजलाई लिएर वैचारिक मतभेद रहँदा महासचिव घनश्याम भुसालसँग पुस्तान्तरणको लफडा छ । अध्यक्ष माधवले समाजवादलाई देखाउने दाँत मात्रै बनाएको झलनाथले आरोप लगाइरहँदा अब युवालाई पुस्तान्तरण गर्नु पर्ने घनश्यामको मत छ । जसले, सधैँ नेतृत्व र शक्तिमा रहँदै आएका माधव पार्टीभित्रै घेराबन्दीमा पर्दै गएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तानाशाही प्रवृत्ति देखाएको भन्दै पार्टी फुटाएर नेकपा एस निर्माण गरेका नेपाल अहिले आफैँ सोही पथमा हिँड्न खोजेपछि उनी आलोचनाको पात्र बनिरहेका छन् । ओलीको पालामा रामकुमारी झाँक्रीले बोल्न पाउनु पर्छ भन्दै मुखमा टेप टालेर साङ्केतिक विरोध जनाएकी थिइन् । अहिले माधवकै पार्टीमा केन्द्रीय सदस्यले बोल्न पाएका छैनन् । केन्द्रीय कमिटी बैठकका सदस्य आरती लामाले बोल्न खोज्दा माधवले उनलाई रोकेका थिए । पार्टी अध्यक्षले अन्तर पार्टी निर्देशन(अपानि) को आधारमा आफूलाई अनेरास्ववियुको अध्यक्षको जिम्मेवारीबाट हटाएको प्रति प्रश्न उठाएकी लामालाई बैठकमा समेत बोल्न रोक लगाइयो । माधवले लामासहित युवा सङ्घका कृष्ण विश्वकर्मालाई पनि अध्यक्षबाट हटाएका थिए । त्यस्तै महाधिवेशनबाट सर्वसम्मत झलनाथलाई दिएको सम्मानित नेताको पदलाई केन्द्रीय कमिटी बैठकले निर्णय गर्नु पर्ने प्रावधान राखिएपछि पार्टीभित्र हलचल ल्याएको छ ।
माधव पनि ओलीकै शैलीमा अघि बढ्न थालेपछि पार्टीभित्रका नेताहरू उनीसँग रुष्ट छन् भने एमालेबाट अलग्गिनुको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन् । जुन पार्टीको केन्द्रीय कमिटी बैठकलाई नेताहरूले गरेको बहिष्कारले पनि देखिएको छ । सांसद किसन श्रेष्ठ, प्रेम आले, पोलिटब्युरो सदस्य उर्वादत्त पन्तलगायत ४० जना केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहे । जसमा वरिष्ठ नेता प्रमेश हमाल र सचिव सावित्रा भुसाल ब्राजिल गएका कारण अनुपस्थित रहेका थिए । आफूहरूको फरक मतकै कारण पार्टीको प्रतिशोधपूर्ण व्यवहार सहनु पर्ने भएपछि बैठक बहिष्कार गर्न बाध्य भएको अनुपस्थित सदस्यले बताउने गरेका छन् । नयाँ र पुराना दुवै दलको विकल्प बत्रे सपना देखेका माधवले आफ्नै नेता कार्यकर्ताको चित्त बुझाउन सकेका छैनन् । जनताका मन जित्न सक्रिय हुनु पर्ने पार्टी आफ्ना नेता कार्यकर्ताहरूलाई व्यवस्थापन गर्न असफल हुँदा वितृष्णा बढ्दै गएको छ ।
एक्लौटी निर्णयमा अडिग अध्यक्ष नेपालमा समेत ओली प्रवृत्तिकै पुनरावृत्ति हुँदै जाँदा उनी आफैँ एक्लिदै गएका छन् भने पार्टी बाहिरबाट पनि चेपुवामा परेका छन् । समाजवादी मोर्चालाई बलियो बनाउनु पर्छ भन्दै हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकै नेता कार्यकर्ताहरूलाई धमाधम आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । त्यस्तै माधवको पार्टीलाई तहसनहस बनाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले अध्यादेश ल्याउने कसरत गरिरहेका छन् । एमाले छाडेर माधवका पछि लागेका नेताहरु नै एमालेमा फर्किन खुट्टा उचालेर बसेका छन् भने उनीहरुकै आग्रह र दबाबमा एकीकृत समाजवादीलाई टुक्राउने सम्मका गतिविधि आन्तरिक रुपमा भइरहेको चर्चा छ । तर, प्रधानमन्त्री ओलीले पार्टी फुटाउने गतिविधिमा आफू नलागेको भन्दै पटक पटक प्रष्टीकरण दिँदै आएका छन् । दुई÷दुई जना पूर्वप्रधानमन्त्री रहेको पार्टी नै राष्ट्रिय दल बन्न नसकेर दबावमा परेको अवस्थामा आन्तरिक मतभेद बढ्ददा नेताहरू पनि निराश छन् । एक ढिक्का भएर पार्टीलाई मजबुत बनाउन अग्रसर हुनु पर्ने नेतृत्वपंक्ति नै आन्तरिक किचलोमा रुमल्लिदा पार्टीको भविष्य अन्योलमा पर्दै गएको टिप्पणी भइरहेको छ । जसका कारण नेता कार्यकर्ताहरू धमाधम पार्टी छोडेर माओवादीका साथै पुरानै दल एमालेतिर फर्किन थालेका छन् । जसले एकीकृत समाजवादीलाई ठूलो र प्रभावशाली दल बनाउने माधवको सपनामा धक्का लाग्दै गएको छ भने आगामी निर्वाचनसम्म पुग्दा कतै पार्टी नै विलय त हुने होइन भन्ने शंका उब्जाइदिएको छ ।


प्रतिक्रिया