Breaking

‘सशस्त्र प्रहरीलाई आफ्नै संगठनको कमाण्डमा चल्न दिनुपर्छ’


सशस्त्र प्रहरी बल, नेपाल विधेयकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश र कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने सांसदहरुले बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। सशस्त्र प्रहरीको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत हुने व्यवस्थाले राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा रहेको समेत उनीहरुको भनाइ छ।

विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सशस्त्र प्रहरी बल अर्धसैनिक चरित्रको रहेको उल्लेख गर्दै चेन अफ कमाण्डमा चल्नेगरी विधेयक ल्याउनुपर्ने बताए। उनले कर्मचारीको सरुवा बढुवामा चेन अफ कमाण्ड जिम्मेवार बनाउने गरी विधेयकमा काम गर्नुपर्ने बताए। उनले सशस्त्र प्रहरी बललाई आवश्यक निर्देशन र अनुगमन संघीय र सरकार र गृह मन्त्रालयले गर्नेगरी जानुपर्ने बताए।

उनले भने, ‘यो विधेयक अर्धसैनिक बलको चरित्रमा छ। सशस्त्र प्रहरीलाई आफ्नै संगठनको चेन अफ कमाण्डमा सरुवा बढुवा र वृत्ति विकासमा पनि बढी जिम्मेवार बनाउने ढंगले यो ऐनमा जानुपर्छ। सरकारले, गृह मन्त्रालयले आवश्यक नीति निर्देशन र अनुगमन गर्नुपर्दछ। संगठनको प्रमुखलाई मुख्य जिम्मेवार बनाउने किसिमले जानुपर्दछ भन्ने मलाई लाग्दछ। हामीले यसलाई अर्धसैनीक बल भनिरहेको अवस्थामा यसलाई प्रहरी भन्न मिल्दैन कि जस्तो पनि लागेको छ। यसलाई हामीले संविधानबाट नै हेर्नुपर्दछ।’

नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले सशस्त्र प्रहरी बल नेपाललाई संविधानको मर्म र भावनाअनुरूप जनउत्तरदायी बनाउन आवश्यक रहेको बताइन्। सशस्त्र प्रहरीलाई व्यवस्थाप्रति उत्तरदायी बनाउँदै हस्तक्षेपमुक्त बनाउन आवश्यक रहेको उनको भनाइ छ।

उनले विधेयकमा सशस्त्र प्रहरीको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत हुने व्यवस्थाले राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा रहेको समेत बताइन्। उनले सशस्त्र प्रहरी बलको परिचालन प्रमुख जिल्ला अधिकारीलाई दिइए शक्तिको दुरुपयोग हुने खतरा रहेको उल्लेख गर्दै त्यस्तो गर्न नहुने धारणा राखिन्। उनले विधेयकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यादेश र कार्यक्षेत्रको समेत अस्पष्टता रहेको बताइन्।

त्यस्तै, छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सशस्त्र प्रहरी बल, नेपाल विधेयक अर्धसैनिक तरिकाले आएको हुनाले यसको परिचालन पनि त्यही ढंगले हुनुपर्ने धारणा राखे। सैनिक जस्तो मिल्दोजुल्दो तरिकाले सशस्त्र प्रहरी बलको परिचालन हुनुपर्ने बताए।

उनले विधेयकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अन्तर नछुट्टिने गरी कुराहरु आएका उल्लेख गर्दै यसलाई सच्याएर जान आवश्यक रहेको बताए।

उनले भने, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक अर्धसैनिक तरिकाले आएको हुनाले यसको परिचालन पनि त्यही ढंगको हुनुपर्दछ। सैनीकसँग मिल्दोजुल्दो तरिकाले यसलाई परिचालन गर्नुपर्ने हुन्छ। कतिपय ठाउँहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अन्तर नछुट्टिने गरी कुराहरु आएका छन्। यसलाई सच्याएर जानुपर्छ। दफावार छलफलका क्रममा ती कुराहरु आउलान् नै। हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीचमा स्पष्ट कार्य विभाजन हुनेगरी र त्यहाँभित्र कुनै द्वन्द्व सिर्जना हुनेगरी हामीले काम गर्नुपर्दछ।’

छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल प्रहरी विधेयक र सशस्त्र प्रहरी बलको विधेयकको प्रस्तावना नै हुबहु रहेको भन्दै गृहमन्त्रीको आलोचना गरे।