काठमाडौं—जर्मनीमा सम्पन्न संसदीय चुनावमा रुढीवादी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो पार्टी बनेको छ । तर पूर्णबहुमत नपाएकाले उसले सरकार बनाउन अरु दलसँग गठबन्धन गर्नुपर्ने भएको छ । गठबन्धन गर्न सीडीयू नेता फ्रेडरिक मर्जका लागि चुनौती हुने आँकलन गरिएको छ । अहिलेसम्म कुनै सरकारी पद नसम्हालेका ६९ वर्षीय फ्रेडरिक मर्ज अब जर्मनीको चान्सलर बन्ने तयारीमा छन् । तर उनले ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी)सँग कुनै पनि प्रकारको गठबन्धन नगर्ने बताएका छन् ।
जर्मनीको युरोपेली संघमा भूमिका, युक्रेन युद्ध नीति र चीनसँगको व्यापारिक सम्बन्ध जस्ता विषयहरू गठबन्धन वार्तामा मुख्य चुनौती बन्न सक्ने बताइएको छ । जर्मनी एकीकरणपछि राजनीतिमा प्रवेश गरेकी एङ्गेला मर्केलले मर्जलाई हटाउँदै चान्सलर बन्न सफल भएकी थिइन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सीडीयू गठबन्धनले २८ दशमलव ५ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । यसैगरी दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी)ले २० दशमलव ६ प्रतिशत मत प्राप्त गरेको छ । पछिल्लो चुनावको तुलनामा यसपटक सो पार्टीको मत दोब्बरले बढेको छ । यसैगरी समाजवादी पार्टी (एसपीडी)ले १६ दशमलव ४ प्रतिशत मत पाएको छ ।


प्रतिक्रिया