राजनीति

नेपालमा ट्रम्पले निम्त्याएको संकट, एमसीसीदेखि INGO सम्मै संकटमा


राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको एक महिना पूरा भयो । सत्तामा हुँदा होस् या सत्ताबाहिर सधँै चर्चा र विवादको पर्याय बनेका ट्रम्प सत्तारोहणको सुरुवातदेखि नै विश्व राजनीति तरंगित छ । मध्यपूर्वमा जारी तनाव रोक्न गरिरहेको पहल होस् या अतिरिक्त कर नीतिका कारण ठूला राष्ट्रहरुलाई उनले लपेटी रहेका छन् । खर्च कटौती गर्न भन्दै धमाधम वैदेशिक सहायता कटौतीलाई तिव्रता दिँदा नेपालमा ट्रम्पको जति चर्चा छ त्यति नै ट्रम्प प्रशासनमा नेपालको चर्चा भइरहेको छ ।


गत जनवरी २० मा दोस्रो पटक ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको एक महिना पुग्यो । राष्ट्रपतिको सत्तारोहण गर्नासाथ ठुला राष्ट्रमाथि अंगालेको अतिरिक्त कर नीतिदेखि मध्यपूर्वको तनाव रोक्न गरिरहेको पहल हुँदै एकपछि अर्को वैदेशिक सहायता कटौतीले राष्ट्रपति ट्रम्प र उनको प्रशासन निरन्तर चर्चा र विवादको केन्द्रमा छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी), मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना लगायत अन्य धेरै क्षेत्रमा नेपाललाई उपलब्ध गराउँदै आएको अनुदानको ठुलो हिस्सा कटौती गर्ने घोषणाले नेपालमा ट्रम्प प्रशासनको चर्चा चुलिएको छ । उता ट्रम्प र उनको प्रशासनभित्र नेपालको चर्चा पनि कम छैन ।

यसअघि सन् २०२४ मार्चमा ब्रायन मस्टले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिएको तथ्य उजागर गरेपछि अमेरिकी सदनमा नेपालको चर्चा भएको थियो ।

ट्रम्प प्रशासनमा नेपालको चर्चा कति छ ? किन भयो ? यो भिडियोले स्पष्ट पार्छ ।

ट्रम्पकै पार्टीका सांसद ब्रयानपछि राष्ट्रपति ट्रम्प स्वयमले नेपालको नाम नै तोकेर ठगी करार गरेको यो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ । ट्रम्पले दुई दिनअघि पत्रकार सम्मेलनमै वित्तीय संघीयता र जैविक विविधता संरक्षणका लागि नेपाललाई दिइएको अनुदानलाई यो फ्रड हो भनेका हुन् । ट्रम्पले अमेरिकाले नेपाललाई दिएको अनुदानलाई सिधैँ ‘ठगी’ करार गरेका छन् । ट्रम्प प्रशासनले वित्तीय संघीयताका लागि २ करोड डलर र जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाखसहित ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ रोकेको छ ।


यसअघि नै युएसएआईडी मार्फत प्राप्त गर्ने सम्झौता भइसकेको कुल ६६ करोड अमेरिकी डलर अर्थात करिब ९१ अर्ब रूपैयाँ बराबरको अनुदान अनिश्चित बनेको छ । स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीति सम्बन्धी चार ठूला परियोजनाहरूमा यसले प्रत्यक्ष असर पार्नेछ । नीतिगत परिवर्तनका कारण नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरू प्रभावित भएका छन् । सहायता कटौती भयो भने सञ्चालित आयोजनाहरु रुग्ण र अलपत्र पर्ने खतरा रहेको टिप्पणी विज्ञको छ ।

एकातिर देशमा भित्रिने अनुदान कटौती हुँदा हल्लीखल्ली मच्चिएको छ भने अर्कोतिर रकम दुरुपयोग गर्नेहरुको नाम सार्वजनिक भएपछि स्पष्टीकरण दिनेहरुको रुवाबासी नै चलेको छ । विदेशबाट रकम लिएर हिन्दु धर्मविरुद्ध काम गरेको आरोप लागेपछि मह जोडीका रुपमा परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खण्डन नै गरेका छन् ।

यस्तै ६ वर्ष राजनीतिक खिचातानीको सिकार बनेको (एमसीसी) परियोजना कार्यान्वयनमा गएको वर्ष दिनमै बन्द हुुन पुगेको छ । योसँगै अमेरिकी सरकारको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानी रहने एमसीसी अन्तर्गतका आयोजनाहरु अलपत्र पर्ने निश्चित छ । (एमसीए–नेपाल)ले अगाडि बढाइरहेको अवस्थामा एकाएक ट्रम्पले अनुदान रोक्का गरेपछि खैलाबैला मच्चिएको छ ।

कुनै पनि योजना ठिक वा बेठिक ? कसले कसरी प्रयोग गरे ? अध्ययनको विषय होला । तर देशमा भित्री सकेको विकास आयोजनाको अनुदान रकम कटौतीले अगाडि बढिसकेका आयोजनाहरु अनिश्चित बनेका छन् भने नेपाल सरकारमाथि दायित्वका साथै दबाबसमेत बढ्ने देखिन्छ ।