Breaking

सत्ताको एक महिनामै आक्रामक ट्रम्प


अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हाले लगत्तै एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरेका डोनाल्ड ट्रम्प पछिल्लो समय विवाद र चर्चामा छन् । उनले अघिल्ला राष्ट्रपति जो बाइडेनका ७८ वटा आदेशलाई उल्ट्याइदिएका छन् ।

अमेरिकामा ट्रम्प सरकारको एक महिना पूरा भएको छ । गत जनवरी २० मा राष्ट्रपति बन्ने बित्तिकै ट्रम्पले १०० भन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरेर इतिहास नै रचे । उनले बाइडेनका ७८ वटा आदेश उल्ट्याए । अहिले ट्रम्पको कामभन्दा धेरै चर्चा र विवाद शिखरमा छ । ट्रम्पले ३० दिनमा यस्ता धेरै निर्णयहरू लिइरहेका छन् कि विश्वको नजर अहिले उनीमाथि केन्द्रित भएको छ । ट्रम्प राष्ट्रपति भएको पहिलो दिन उनले बाइडेन प्रशासनका ७८ निर्णय उल्टाए ।

उनले उक्त दिन क्यापिटल दंगामा दोषीहरूलाई माफी दिने, विश्व स्वास्थ्य संगठनको सदस्यबाट हट्ने र औषधिको मूल्य घटाउने आदेशहरूमा हस्ताक्षर गरे । त्यस्तै ट्रम्पले धेरै देशहरूबाट आउने शरणार्थीहरूको उडान र शरणार्थी पुनर्वास कार्यक्रम नै रद्द गरे । यस कारण हजारौं शरणार्थीहरू विभिन्न देशहरूमा अलपत्र परे । त्यही समयमा भारत लगायत धेरै देशका अवैध आप्रवासीहरूलाई साङ्लोले बाँधेर सैन्य विमानमा राखेर देश निकाला गरे ।

राष्ट्रपति बनेसँगै ट्रम्प प्रशासनले इजरायल, इजिप्ट र खाद्य कार्यक्रम बाहेक अन्य देशहरूलाई दिइने सबै सहयोग ९० दिनका लागि रोक्यो । यो आदेशपछि विश्वभर स्वास्थ्य, शिक्षा, विकास र रोजगारीसँग सम्बन्धित धेरै परियोजनाहरू बन्द हुने खतरा बढेको छ । त्यस्तै क्यानडा र मेक्सिकोका सामानमा २५ प्रतिशत तथा चीनका सामानमा थप १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

यद्यपि, फेब्रुअरी ४ मा उनले क्यानडा र मेक्सिकोमा कर लगाउने आदेशलाई ३० दिनका लागि स्थगित गरे । तर चीनको कर भने यथावत छ । ट्रम्पको राष्ट्रपति चुनावी अभियानका क्रममा सत्तामा आउने बित्तिकै रुस–युक्रेन युद्ध रोक्ने बताउँदै आएका थिए । सरकार गठन भएको ३० दिनभित्रै अमेरिकाले युक्रेन युद्ध रोक्ने उद्देश्यले साउदी अरबमा बैठक गर्यो । साढे चार घण्टासम्म चलेको बैठकमा रुस र अमेरिकाले सबैभन्दा पहिले आफ्नो आपसी सम्बन्ध सुधार गर्न पहल गरे ।

दुवै देशले सकेसम्म चाँडो आ–आफ्ना दूतावासहरू सञ्चालन गर्न सुरु गर्ने सहमति भएको छ । रुस र युुक्रेनको युुद्ध रोक्ने क्रममा ट्रम्पको एकल निर्णयमा युुक्रेनका राष्ट्रपतिले असहमति जनाए । यसको जवाफमा ट्रम्पले जेलेन्स्कीलाई तानाशाह नै भन्न भ्याए । पछि उक्त टिप्पणी विरुद्ध युरोपेली नेताहरू र क्यानडाका प्रधानमन्त्रीले युुक्रेनको समर्थनमा खडा भए । राष्ट्रपति ट्रम्पका कारण यतिबेला युरोपेली शक्ति राष्ट्रहरु एक भएका छन् । कार्यकाल सम्हालेको एक महिनामै चर्चा र विबादको शिखरमा पुुगेका ट्रम्पको बाँकी कार्यकाल कस्तो रहँला ? त्यो भने हेर्न बाँकी छ ।