भारतको दिल्ली विधानसभा निर्वाचन अन्तर्गत आज मतदान सम्पन्न भएको छ । ७० विधानसभा सिटका लागि ६ सय ९९ जना चुनावी प्रतिस्पर्धामा छन् । यसअघि सम्पन्न दुईवटा विधानसभा चुनावमा बहुमत बटुलेको अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टी, सत्तारुढ भाजपा र कांग्रेसबीचको त्रिपक्षीय भिडन्तमा कसले बाजी मार्छ ? चासोपूर्ण बनेको छ ।
७० निर्वाचन क्षेत्र रहेको दिल्ली विधानसभा चुनाव अन्तर्गत बुधवार मतदान भएको छ । मतदान भएको तीन दिनभित्र नजिता सार्वजनिक गर्ने योजना भारतीय निर्वाचन आयोगको छ । झन्डै एक करोड ५६ लाख मतदाता रहेको दिल्ली विधानसभा चुनावमा ६ सय ९९ जना उम्मेदवार छन् । यीमध्ये ९६ जना महिला उम्मेदवार छन ।
यसअघि लोकसभा चुनावमा गठबन्धन गरेको कांग्रेस र आम आदमी पार्टी विधान सभामा एक्लाएक्लै भिडेका छन् । आम आदमी पार्टी र कंग्रेसले ७० वटै सिटमा आफ्ना उम्मेदवार उठाएका छन् भने सत्तारुढ भाजपाले ६८ सिटमा मात्र उम्मेदवारी दिएको छ ।
दिल्लीको मुख्य पार्टीको रुपमा स्थापित अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी, कांग्रेस र सत्तारुढ भारतीय जनता पार्टी भाजपाबीचको त्रिपक्षीय भिडन्तका कारण दिल्ली चुनाव धेरैको चासोमा छ । अरविन्द केजरीवाल, मुख्यमन्त्री अतिशी मार्लेना, सौरभ भारद्वाज, मनिस सिसोडिया लगायतका नेताहरुको चुनावी नतिजाबारे धेरैको चासो छ ।
त्यस्तै भारतीय जनता पार्टीबाट उम्मेदवारी दिएका परवेश बर्मा र कांग्रेस उम्मेदवार सन्दीप दीक्षितमाथि पनि धेरैको आँखा गडेको छ । उनीहरुलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । मुख्यमन्त्री अतिशीविरुद्ध काङ्ग्रेसले अलका लाम्बा र भाजपाका सौरभ भारद्वाज चुनावी मैदानमा छन् । लाम्बा अखिल भारतीय महिला काङ्ग्रेसकी अध्यक्षसमेत हुन् ।
यस्तै आमआदमी पार्टीका संयोजक तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालसँग भाजपाले पूर्वमुख्यमन्त्री साहिब सिंह बर्माका छोरा प्रवेश बर्मा र काङ्ग्रेसले पूर्वमुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षितलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । आ–आफ्नो राजनीतिक विरासतकै बलमा चुनाव जित्नेमा उनीहरु ढुक्क देखिन्छन् ।
विगतको दुई चुनावमा दिल्ली विधानसभामा बहुमत हासिल गर्न सफल र दिल्लीको सत्ता नै हाँकी रहेको केजरीवाल नेतृत्वको आमआदमी पार्टीले आफ्नो विरासत जोगाउन सक्छ वा सक्दैन ? यसपटक बहसको विषय बनेको छ । विधानसभा चुनावको मुखैमा आधा दर्जनभन्दा बढी विधायकीहरुले आमआद्मी पार्टी परित्याग गरेका थिए । त्यसको असर चुनावमा पर्छ वा पर्दैन ? भन्ने चासो पनि उत्तिकै छ । ५८ सिट खुला प्रतिस्पर्धाका लागि छन् भने १२ सिट अनुसूचित जातिका उम्मेदवारहरूका लागि आरक्षित गरिएको छ ।


प्रतिक्रिया