Breaking

भारत लोकसभाः भाजपा गठबन्धनले जित्यो २९३ सिट, तेस्रो पटक मोदी सरकार

योहो संवाददाता

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।

भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । कांग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ ।

५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् ।

मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ । २००५ देखि नै बिहारका मुख्यमन्त्री रहेका नितिशले अहिलेसम्म ९ पटक सहयोगी परिवर्तन गरेका छन् ।

यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ ।