मनोरञ्जन

‘फेस अफ लिटल स्टार २०८३’ को अडिसनमा १९३ जना बालबालिकाको सहभागिता

योहो संवाददाता

काठमाडौं– सुनौलो संसार म्यानेजमेन्ट प्रालिद्वारा आयोजीत ‘फेस अफ लिटल स्टार २०८३’ को अडिसनमा १९३ जना बालबालिकाले सहभागिता जनाएका छन्। ‘ट्यालेन्ट विथ पर्सनालिटी’ मूल अवधारणासहितको यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकास गर्नु रहेको आयोजकले जनाएको छ।

पछिल्लो समय बालबालिकामा मोबाइल तथा डिजिटल उपकरणको प्रयोग बढ्दै गएकाले उनीहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरीएको आयोजकले जनाएको छ। कार्यक्रमबारे जानकारी दिँदै प्रालिका कार्यकारी प्रमुख (सीईओ) नारायण बहादुर थापाले बालबालिकालाई डिजिटल दुनियाँबाट टाढा राखेर संगीत, नृत्य, अभिनय तथा फेसनजस्ता सिर्जनात्मक क्षेत्रतर्फ आकर्षित गर्न यो प्रतियोगिता महत्त्वपूर्ण हुने बताएका छन् ।

प्रतियोगितामा ७ देखि ९ वर्ष उमेर समूह ९समूह ‘ए’० र १० देखि १२ वर्ष उमेर समूह ९समूह ‘बी’० गरी १९३ जना बालबालिकाको सहभागिता रहेको छ। सहभागीमध्ये प्रत्येक समूहबाट ४० जना छनोट हुनेछन्।छनोट प्रक्रिया बौद्ध महांकाल को नांगसाल क्याफे एण्ड होटेलमा हुने भएको छ ।

छनोट भएका सहभागीहरूलाई डान्स, सिङ्गिङ, एक्टिङ, फेसन जस्ता विषयमा देशका ख्यातिप्राप्त विज्ञहरूबाट विशेष प्रशिक्षण दिइनेछ।

तीन हप्तासम्म साताको चार दिन—आइतबार, मंगलबार, बुधबार र बिहीबार—अडिसन सञ्चालन हुनेछ।

प्रतियोगिताको मुख्य विजेताले ५० हजार रुपैयाँ नगद, ट्रफी, क्राउन तथा तीन जनाका लागि काठमाडौं–पोखरा हवाई टिकटसहित दुई रात तीन दिनको रिसोर्ट प्याकेज प्राप्त गर्नेछन्।

साथै, विजेता बालबालिकाका अभिभावकका लागि पार्लर, बेकरी, बारीष्टा तथा जिम तालिमको सुविधा उपलब्ध गराइएको छ। प्रथम र द्वितीय हुने प्रतियोगीलाई समेत ट्रफी, प्रमाणपत्र, पोखरा भ्रमणको प्याकेज तथा विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाएको छ।