काठमाडौं– अदालतको भूमिकालाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबीच जुहारी नै चलेको छ । रास्वपाका सांसद यज्ञमणि न्यौपाने र प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालबीच सवालजवाफ भएको हो । विशेष समयमा बोल्दै एमाले सांसद बरालले अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका कतिपय सांसदबाट अभिव्यक्ति आइरहेको बताए । संविधानले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको कार्यक्षेत्र प्रस्ट पारेको उल्लेख गर्दै बरालले सत्तापक्षका सांसदहरूले अदालतका निर्णयहरूप्रति राजनीतिक आक्रोश पोख्ने, न्यायाधीशहरूलाई धम्क्याउने, आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाए । उनको उक्त भनाइको रास्वपा सांसद न्यौपानेले कडा प्रतिवाद गरे । उनले पुराना दलहरूले न्यायालयमा सिन्डिकेट खडा गरेको आरोप लगाए । न्यौपानेको अभिव्यक्तिलगत्तै एमाले सांसद बरालले फेरि प्रतिवाद गर्दै अदालतको फैसलाउपर संसद्ले अध्ययन गर्न नसक्ने र त्यो क्षेत्राधिकार न्याय परिषद्को मात्रै रहेको स्पष्ट पारे ।
Breaking


प्रतिक्रिया