Breaking

अदालत ताक्दै रास्वपा, न्यायाधीशलाई खुला चुनौती, महाभियोगको इसारा कसको ? सुधार्न खोजेको कि बिगार्न ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार गठन भएको झण्डै ६ महिनाको अवधिमा, सरकारका महत्त्वपूर्ण कामकारबाही र निर्णयहरूमा न्यायालयले ब्रेक लगाउँदै आएको छ । सुरुवाती चरणमै बालेन्द्र शाह नेतृत्वको सरकारले गरेका बोल्ड तथा लोकप्रिय निर्णयहरूमा रोक लगाएर झट्का दिएको न्यायालयले अहिले पनि एकपछि अर्को गर्दै सरकारका निर्णयहरूको कार्यान्वयनमा रोक लगाइरहेको छ । सत्ताको आडमा सरकारले गरेका स्वेच्छाचारी निर्णयहरूमा अदालतले रोक लगाउनु न्यायसंगत भएको विज्ञहरूको विश्लेषण छ । तर अदालतका यिनै निर्णयहरूविरुद्ध अहिले रास्वपा सांसदहरू निरन्तर आगो ओकलिरहेका छन् । पछिल्ला केही दिनमा संसद्बाटै सीमित सांसदहरूले न्यायालयविरुद्ध चर्को अभिव्यक्ति दिइरहेका छन् । न्यायपालिका निरंकुश भएको आरोपदेखि न्यायाधीशलाई महाभियोगको धम्की दिनेसम्मका काममा सांसदहरू उद्यत देखिन्छन्; जसले रास्वपा सरकार र न्यायपालिकाबीचको टकरावलाई सतहमा ल्याइदिएको छ ।