काठमाडौं– पूर्वसभापति शेरबहादुर देउवा पक्षको बहिष्कार र असन्तुष्टिका बीच नेपाली कांग्रेसले पालिका तहको अधिवेशन प्रक्रिया सुरु गरेको छ । देशैभरका ७३ भन्दा बढी जिल्लाहरूमा ६ हजार १ सयभन्दा बढी वडाहरूको कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको काम पूरा भएसँगै बुधबारदेखि पालिका तहको अधिवेशन प्रक्रिया सुरु भएको हो । असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको कांग्रेस संस्थापन पक्षको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको छ । केही छिटफुट स्थानबाहेक देशभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ । यसै क्रममा भरतपुर महानगरपालिकामा महिला उपसभापति र सह–सचिव पदमा उम्मेदवारी दिएका दुई जना निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी कल्पना पौडेल र सह–सचिव पदमा उम्मेदवारी दिएका देउबहादुर थापा मगर निर्विरोध निर्वाचित भएको मतदान अधिकृत रामेश्वर न्यौपानेले जानकारी दिएका छन् । हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशन सुरु भएको छ । वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको हुने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
Breaking


प्रतिक्रिया