काठमाडौं– सानेपा र चुनदेवीबीचको करिब नौ महिना लामो आन्तरिक राजनीतिक टकराव अन्ततः सानेपामा उत्साहमा परिणत भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट मानिएका हेभीवेट नेताहरू नौ महिनापछि पार्टी मुख्यालय सानेपा प्रवेश गरेका छन् । देउवानिकट ५१ जना नेताहरू सानेपा फर्कँदा केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गर्दै खुसीयाली मनाए । अहिले चुनदेवी र चाक्सीबारीको राजनीतिक कोटरी रित्तिएको मात्र छैन, पूरै खाली भएको छ । यसले महाधिवेशनबाट सभापति बनेका गगन थापालाई पार्टी नेतृत्व सम्हालेपछिको ठूलो राजनीतिक सफलता र वैधानिकता समेत प्राप्त भएको छ । कुनै समय देउवा पक्षमा रहेर गगन–विश्वको उछित्तो काढ्दै आएका नेता मीनबहादुर विश्वकर्मा बिहीबार निकै उत्साहित भएर सानेपा पुगे । यी तिनै मीन विश्वकर्मा हुन्, जसले विशेष महाधिवेशन गरेको भन्दै गगन–विश्वलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको निर्णय सुनाएका थिए । तर, बिहीबार उनै विश्वकर्मा त्यही विशेष महाधिवेशन र गगन थापालाई सभापति स्वीकार्दै पार्टीको आसन्न १५औँ महाधिवेशनको तयारीमा जुटेका छन् । विगतमा सभापति गगनकै कारण पार्टीले आम निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप लगाउने उनी अहिले भने एकताका लागि सभापति थापाले देखाएको तत्परताको प्रशंसा गरिरहेका छन् ।
Breaking


प्रतिक्रिया