काठमाडौं– नेपाली कांग्रेसका शीर्ष तहका नेताहरू नै तितरबितर भएका छन् । समानान्तर गतिविधि गरिरहेका नेपाली कांग्रेसका दुई समूह छुट्टाछुट्टै महाधिवेशनको तयारीमा जुटेका छन् । एकताका लागि दुवै पक्ष केही हदसम्म लचिलो देखिएका थिए । पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि एकतामा सहज हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । उल्टै देउवाले आफू नै सभापति रहेको र आफ्नै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने भन्दै अडान लिए । संस्थापन पक्षले एकताको वातावरण बनाउन महाधिवेशन नै केही समय पर सारेको थियो । तर, एकताको सम्भावना नदेखिएपछि संस्थापन पक्ष अन्ततः तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न तयार भएको छ । संस्थापन पक्षले इतर पक्षलाई महाधिवेशनमा सहभागी हुन आह्वान समेत गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिका सबै नेतालाई केन्द्रीय सदस्यको हैसियत दिने निर्णय समेत गरेको छ । पार्टीको आन्तरिक विवादलाई सुल्झाएरै महाधिवेशन सम्पन्न गर्ने दिशामा संस्थापन पक्ष लागेको पछिल्ला निर्णयहरूले देखाएका छन् ।
देश


प्रतिक्रिया