काठमाडौं– सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै आफ्नै नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टिको आक्रोश बढ्दा संसद्मै पोखिन थालेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपा सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान र विधिको शासनको खिल्ली उडाएको दाबी गर्दै कडारुपमा प्रस्तुत भए । सिंह प्रतिपक्षी बेन्चभन्दा पनि उग्र रूपमा प्रस्तुत भएपछि सत्तापक्ष नै रक्षात्मक बन्न पुग्यो । प्रधानमन्त्री र उनको सचिवालयको स्वेच्छाचारी कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सिंहले सरकार संसदीय पद्धतिभन्दा बाहिर गएर ‘सल्लाहकारतन्त्र’ र हुकुमी शैलीमा चलेको दाबी गरे । संसदीय व्यवस्थामा प्रधानमन्त्री नै शासकीय शक्तिको केन्द्र हुनुपर्नेमा वर्तमान सरकारको वास्तविक केन्द्र ‘ज्वागल’ बनेको उनको आरोप थियो । उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको भूमिकामाथि औँला उठाउँदै बेनले गुण्डा शैलीमा समानान्तर सत्ता चलाइरहेको बताए । सल्लाहकार बेन भारतीय गुप्तचर संस्थाको निमन्त्रणामा नयाँ दिल्लीस्थित ‘लीला प्यालेस’ होटलको दोस्रो तलामा पुगेर गोप्य भेटवार्ता गरेको खुलासा गर्दै सिंहले सरकारी कर्मचारीहरूको मानमर्दन गरिएको विषयसमेत सदनमा उठाए । उनले एउटै सल्लाहकार सरकारको पतनका लागि काफी भएको टिप्पणी गरे ।
देश


प्रतिक्रिया