देश

गगनको खतर्नाक ‘मुभ’, देउवा पक्षलाई पेलेरै महाधिवेशन, सानेपाका प्रष्ट ५ सन्देश, रास्वपालाई काउन्टर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै नेपाली कांग्रेसभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । देउवाको फिर्तीपछि कांग्रेसको घरझगडा मिल्ने अपेक्षाविपरीत संस्थापन र इतर पक्षले छुट्टाछुट्टै समानान्तर गतिविधिलाई तीव्रता दिएपछि कांग्रेस एकढिक्का हुनेमा झनै शङ्का बढाएको छ । इतर पक्षले राष्ट्रिय सम्मेलन गर्दै संस्थापन पक्षमाथि दबाब बढाउँदा पार्टीभित्र एकताभन्दा पनि ध्रुवीकरण बढ्न थालेको छ । जसका कारण ‘सानेपा भर्सेस चुनदेवी’ बन्दा नेताहरूबीच आरोप–प्रत्यारोपको शृङ्खला थप बढेको छ । एकातिर थापा नेतृत्वको कार्यसमिति पार्टी सङ्गठनलाई संस्थागत रूपमा अघि बढाउँदै १५औं महाधिवेशनको सुनिश्चितता गर्दैछ भने अर्कोतर्फ इतर पक्षले थापा नेतृत्वको वैधानिकता र पार्टीको भविष्यबारे असहमति राख्दै आएको छ । यसक्रममा संस्थापन पक्षले पार्टीलाई विघटनबाट जोगाउन आगामी १५औँ महाधिवेशन रोक्न नसक्ने निष्कर्षसहित सभापति थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति नै गठन गरेको छ । यसले संस्थापन पक्ष इतर पक्षलाई पेलेरै अघि बढ्ने संकेत गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरेको छ । पार्टीभित्रै भिडिरहेका सभापति थापाले यसअघि सोमबार सानेपाबाट इतर पक्षलाई चुनौती दिनेदेखि देउवा फकाउने रणनीतिसम्म अपनाए ।