आम निर्वाचन सम्पन्न भएको भर्खरै पाँच महिना पूरा भयो । उम्मेदवारहरुले चुनावको बेला मतदातासँग गरेका वाचा ताजै छन् । विभिन्न आश्वासन देखाएर विजयी भएकामध्ये १७ जना त मन्त्री नै भएका छन् । तर तिनै मन्त्रीहरु आजभोलि नागरिकले गुनासो पोख्दा मत फिर्ता लैजान चेतावनी दिन थालेका छन् ।
योभन्दा लाचार, यो भन्दा गैरजिम्मेवार । यो भन्दा निकृष्ट र यो निर्दयी अभिव्यक्ति के हुनसक्छ ? हिजो भोट माग्दै जनताका पाउ पर्ने । पहाडभन्दा ठूलो भारी बोकेर हिड्न पनि तयार हुने । पाउ पर्ने, गोडा मोल्ने । तर आज जनताले वाचा सम्झाउँदा भोट नै फिर्ता लैजाउ भन्ने । यो कस्तो राजनीतिक संस्कार र जनताप्रतिको जवाफदेहिता हो । सम्भवतः परिवर्तन यसकै लागि हुनुपर्छ ।
आफूले जिताएको सांसद् मन्त्री भएपछि स्वभाविक रुपमा मतदातामा आफ्नो क्षेत्रको विकास हुने र विगतमा गरेको बाचा पुरा गर्ने आश हुन्छ । तर तिनै मन्त्रीहरुलाई अहिले मतदातासामु रवाफ देखाउन भ्याइनभ्याइ छ । कसैले बजेट माग्दा पहिला स्थानीय चुनावमा आफ्नो दललाई जिताउन दबाब दिइरहेका छन्, कसैले विकास खोज्नेको गालामा मालिस गरिदिन कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । कुनै मन्त्री सामान्य ज्वरो आउँदा सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ फर्किने, कुनै मन्त्री जेनजी आन्दोलनले आफूलाई लस भएको दाबी गर्ने । मन्त्रीले नै खोलो तर्ने लौरो विर्सने गरेपछि छोटै समयमा मतदाता पछुतो मानिरहेका छन् ।


प्रतिक्रिया