काठमाडौं– इरानमाथि जारी अमेरिकी–इजरायली युद्धका बिच अमेरिकाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सेनाका अनुसार चेतावनी दिएपनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो ।
त्यसपछि जहाजलाई अघि बढ्नबाट रोकिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई अहिलेसम्म बाटो परिवर्तन गर्न लगाइएको छ । त्यस्तै, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको जनाएको छ । यो घटनासँगै स्ट्रेट अफ होर्मुजमा तनाव थप बढेको छ ।
होर्मुज विश्वकै महत्वपूर्ण तेल तथा व्यापारिक जलमार्गमध्ये एक हो । इरानले अमेरिकी सैन्य कारबाही र नाकाबन्दीको विरोधमा होर्मुजबाट हुने जहाज आवतजावत रोक्दै आएको छ । इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्नुअघि अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ ।


प्रतिक्रिया