देश

बालेनलाई श्री १० भनेपछि बबाल…, हर्कको कोर्रा प्रस्ताव, डिम्ब तस्करीले खैलाबैला, खुस्बुको माग (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पछिल्लो समय प्रतिनिधिसभाको बैठक सत्ता र प्रतिपक्षका सांसदहरूको साझा आक्रोश र प्रश्नहरूको केन्द्र बनेको छ । जनताका दैनिक समस्याहरूप्रति सरकार पूर्ण रूपमा बेखबर रहेको भन्दै सदनमा प्रधानमन्त्री बालेन शाहकै तीव्र खोजी भइरहेको छ । प्रधानमन्त्रीको कार्यशैली, संसद्प्रतिको गैरजवाफदेहिता र ‘गुप्तवास’ शैलीले देश र जनतालाई थप संकटमा धकेलेको भन्दै सांसदहरूले संसद्प्रति उपेक्षा नगर्न चेतावनी दिएका छन् । मंगलबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाए । उनले प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? भन्दै प्रश्न समेत गरे । उनले देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै संसद्प्रति उपेक्षा नगरेर संवैधानिक कर्तव्य पालना गर्न आग्रह गरे । सांसद केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दै गएको आरोपसमेत लगाए । सरकारका केही राम्रा प्रयासहरू भए पनि त्यसमा हचुवा र विधिविहीन प्रक्रिया देखिएको उनको टिप्पणी छ । लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा सरकारको ध्यान नपुगेको सांसद केसीले बताए । यसका साथै सरकार गठन भएको १०० दिनमा एक लाख युवा स्वदेश फर्काउने प्रतिबद्धता कहाँ पुग्यो ? भन्दै प्रश्न गरे ।