काठमाडौं– नेपालका प्रधानमन्त्रीसामू शासनसत्ता सम्हालेदेखि नै भूराजनीतिक मुद्दा यति पेचिलो बन्छ कि उसलाई आन्तरिकभन्दा छिमेकी र मित्र राष्ट्रका दबाबहरू भारी पर्न थाल्छन् । सार्वभौम संसद्बाट बनेको प्रधानमन्त्रीले भारत, चीन, अमेरिकाजस्ता शक्तिशाली राष्ट्रहरूबाट आउने दबाब थेग्नै सक्दैनन् । परिणामतः शक्तिशाली राष्ट्रहरूका राजदूतहरूले प्रधानमन्त्रीको बेडरुमसम्ममै सहज पहुँच राख्ने गरेका थिए । तर, आफ्नो मर्यादा नै भुलेर विदेशी राजदूतलाई शयनकक्षसम्मै सहज पहुँच दिने परम्परालाई तोड्दै एकल भेटका लागि समेत समय उपलब्ध नगराउने नीति वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को थियो । त्यसैले प्रधानमन्त्री भएपछि विभिन्न मुलुकका राजदूतसँग सामूहिक भेट गरेर सनसनी मच्चाएका शाहले चार महिनापछि आफ्नो पूर्ववत अडानबाट पछि हट्दै दुई छिमेकी राष्ट्रका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाहले सोमबार बिहान दक्षिणी छिमेकी भारतका राजदूत नवीन श्रीवास्तव र दिउँसो तीन बजे उत्तरी छिमेकी चीनका राजदूत झाङ माओमिङसँग प्रतिनिधिसहित एक्लाएक्लै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गरे । नेपाल र भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भएको जनाइएको छ । प्रधानमन्त्री शाहसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।
देश


प्रतिक्रिया