देश

शशांक–गगनकै टक्कर, बिपीकै नाममा लडाइँ, देउवाको भव्य स्वागत, सर्वोच्चको आदेशले चर्कियो विवाद (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको राजनीतिमा एउटा यस्तो संयोग आइपरेको छ कि सँगसँगै संसदीय राजनीतिको यात्रा थालनी गरेका दुई नेताहरू बीच नै अहिले पार्टी नेतृत्वमा पुग्ने होडबाजी चलेको छ । करिब दुई दशक अघि २०६४ सालको निर्वाचनमा नवलपुर–१ बाट सांसद बनेका शशाङ्क कोइराला र सोही निर्वाचनमा समानुपातिबाट संसद् छिरेका गगन थापा नै अहिले कांग्रेसको आधिकारिकतालाई लिएर आमन्नेसामन्ने भएका छन् । राजनीतिमा आउन नचाहेका शशाङ्कलाई कांग्रेसभित्रैबाट राजनीतिमा आउन दबाव बढेपछि कोइरालाको कुनै साइनो नै नभएको नवलपुरबाट चार पटक सांसद बने । ०६४ मा देशभर तत्कालिन माओवादीको उभार छाएको भए पनि माओवादीकै उम्मेदवारलाई हराएर पहिलो पटक सांसद बन्नुको पछाडी उनको राजनीतिक योगदान भन्दा पनि विपी पुत्र हुनुको नाता बढी थियो । किन भने सक्रिय राजनीतिमा आउनुअघि उनी काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पतालमा नेत्र विशेषज्ञ थिए । यस्तै पार्टीको १३ औं महाधिवशेनमा हालका राष्ट्रपति रामचन्द्र पौडेल पक्षबाट सबै पदाधिकारीमा हार्दा यिनै शशाङ्क एक्लैले महामन्त्री जस्तो शक्तिशाली पदमा विजयी भएका थिए । गगन र अर्जुननरसिंह केसी जस्ता प्रभाव र दिग्गज नेतालाई हराएर महामन्त्रीको भूमिका पाउँदै गर्दा पनि उनको व्यक्तिगत भन्दा बीपीकै रगतको प्रभाव बढी थियो । १४ महाधिवेनशनमा दाजु शेखर कोइरालाको साथ छोडेर आफू निष्कृय बन्दै शेरबहादुर देउवालाई सभापतिमा जिताउन भूमिका खेलेका उनी त्यसयता देउवा पक्षमा गनिए । अहिले तिनै देउवा समूह कोइरालाको विरासत कोइरालामा नै फकाउन लागिपरेको छ ।