काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । सत्ता समीकरणको गणितीय चलखेल र सरकार गठनको दौडमा नरहने निर्णय गरेको सांसद कुमारी स्याङ्तानले जानकारी दिइन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम प्रदेशले सर्वसम्मतिले उक्त निर्णय गरेको उनले बताइन् ।
राप्रपाको यो निर्णयसँगै बागमतीमा प्रदेश सरकार पुनर्गठन प्रक्रिया थप अन्योल बनेको छ । इन्द्र बानियाँ नेतृत्वको सरकार ढल्ने संघारमा पुगे पनि नयाँ मुख्यमन्त्री को भन्ने विषय झनै गिजोलिएको छ । एमाले र नेकपाबीचको सहमति अनुसार बागमतीमा एमालेले मुख्यमन्त्री पाउने छ । बागमतीमा राप्रपाका १२ जना सांसद छन् ।
१०४ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५३ सांसद चाहिन्छ । ३६ सीटसहित कांग्रेस पहिलो दल छ भने नेकपा २६ सीटसहित दोस्रो र एमाले २५ सांसदसहित तेस्रो स्थानमा छन् । राप्रपासँग १२ सीट, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सीट रहेको छ । बानियाँले सरकार जोगाउनका लागि एमाले र नेकपा बाहेकका सबै दलको समर्थन लिनुपर्ने हुन्छ ।


प्रतिक्रिया