देश

बालेनको प्रधानमन्त्री खोस्न खोजेपछि रविविरुद्ध बालुवाटारको काउन्टर, स्वर्णिम निसानामा, रास्वपामा गुट टकराव (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपालको वर्तमान राष्ट्रिय राजनीतिकै सबैभन्दा प्रभावशाली व्यक्तित्व हुन्— प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने । जहाँ प्रधानमन्त्री शाहले दुईतिहाइ बहुमतनजिकको राज्यसत्तामा एकछत्र राज गरिरहेका छन् भने सभापति लामिछानेले देशकै सबैभन्दा ठूलो र शक्तिशाली दल रास्वपाको नेतृत्व गरिरहेका छन् । दशकौँदेखि शक्ति केन्द्रमा रजगज गर्दै आएका पुराना दलहरूलाई किनाराकृत गरेसँगै अहिले यिनै रवि र बालेन शक्ति केन्द्रमा रहेका छन् । यी दुईको राजनीतिक ‘केमेस्ट्री’ र सहकार्यलाई आम जनताको अपार समर्थन पनि मिलेको छ । बालेनले पाँच वर्ष ढुक्कसँग सरकार चलाउने र रविले पार्टी सङ्गठन सुदृढ बनाउने पूर्वसहमतिअनुसार नै राज्यसत्ता सञ्चालन भइरहेको थियो । तर विडम्बना, आधुनिक ‘राम–लक्ष्मण’ को उपमा पाएका रवि–बालेनको यो जोडी बिस्तारै विखण्डनतर्फ उन्मुख देखिएको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको चार महिनामै दुई जनाबीच उत्पन्न असमझदारी र पछिल्ला राजनीतिक घटनाक्रमले उनीहरुबीचको दूरी बढाउँदै लगेको छ । विशेष गरी, प्रधानमन्त्री शाहकै शैलीमा सभापति लामिछानेले बढाएको समानान्तर गतिविधिले उनीहरूबीचको टसललाई थप सतहमा ल्याइदिएको हो । सुनसरीबाट सुरु भएको साम्प्रदायिक झडपले उग्र रूप लिएपछि सर्वदलीय बैठक बोलाउनेदेखि राष्ट्रपतिसँगको भेटघाटसम्ममा लामिछानेले देखाएको अग्रसरताले बालेनसँगको सम्बन्धमा दरार आएको स्पष्ट सङ्केत दिएको छ ।