देश

रास्वपाले पत्तासाफ पारेपछि दुस्मनी तोड्दै नेताहरु, ओली–प्रचण्डलाई माथ खुवाउँदै सीके–उपेन्द्र, कोको जुटे ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राजनीतिमा ‘कोही स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन्’ भन्ने चर्चित भनाइलाई समकालीन राजनीतिक दल र तिनका नेताहरूले पुनः एक पटक चरितार्थ गरेका छन् । बालेन शाह नेतृत्वको रास्वपा सरकारले पुराना दल र तिनका नेताहरूलाई मान–भाउ नदिएपछि पुराना दलका नेताहरु आफ्नो व्यक्तिगत अस्तित्वलाई तिलाञ्जली दिँदै राजनीतिक साख जोगाउनकै लागि भए पनि थेत्तरो बनेर गला मिलाउन थालेका छन् । यस्ता चार जोडी नेता, जसको राजनीतिक सुरुवात नै एक–अर्काको जग भत्काउनेदेखि एकले अर्कोलाई सिध्याउनेसम्मको खेलबाट भएको थियो, तिनै नेताहरू अहिले टाउको जोडेर सहकार्यमा जुटेका छन् । कुनै बेला एउटै जेटका दुई पाइलट बनेर तत्कालीन दल नेकपा हाँकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको सम्बन्ध ‘चाटाचाट’ देखि ‘बाझाबाझ’ सम्मको छ । उमेरमा ३ वर्ष मात्रको फरक रहेका यी दुईले राजनीतिमा झण्डै चार दशकभन्दा बढी समय बिताए । सत्ता सहकार्य गर्दा स्वर्ग र नर्क सँगै जाने बाचा गरेका यी दुई पात्रको सम्बन्ध चार पटक जोडिँदा तीन पटक छुटेको छ ।