देश

स्वास्थ्य मन्त्री निशा ः मधेशमा बालेनको दूत बनिन्, आन्दोलनले घेरियो मन्त्रालय, नर्सको आन्दोलन, नैतिक संकट (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नर्सिङ पृष्ठभूमिकै व्यक्ति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री बन्दा पनि नर्सिङ पेसामा आबद्धहरूले आफ्ना माग सम्बोधन गराउन सत्याग्रह बस्नुपरेको छ । विभिन्न सरकारी अस्पतालमा करारमा काम गरेर हाल वीर अस्पतालमा नै नर्सिङ विषयमा स्नातकोत्तर गर्दै गरेकी ज्योति रानाभाट नर्सिङ क्षेत्रमा सुधारको माग राख्दै अनशनरत छिन् । यही साउन १४ देखि १५ बुँदे माग राखेर नर्सिङ काउन्सिलबाट सुरु भएको उनको अनशन अहिले वीर अस्पतालको आईसीयूको शय्यासम्म पुग्दा पनि जारी नै छ । रक्तचाप र सुगरको मात्रा कम भएपछि शनिबार वीर अस्पताल भर्ना गरिएकी उनको सरकारी अस्पतालमा करारमा काम गर्ने नर्सहरूको पारिश्रमिक तहअनुसार हुनुपर्ने र पर्याप्त नर्सिङ जनशक्तिको दरबन्दी सिर्जना हुनुपर्ने लगायत माग छन् । स्वास्थ्य क्षेत्रको नेतृत्व नै नर्सिङ पेसाबाट आएकी स्वास्थ्यमन्त्री निशा मेहताले गरिरहँदा पनि सरकारले नर्सिङ पेसालाई बेवास्ता गरेको ज्योतिको गुनासो छ । नर्सिङ पेसामा नै रहेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्व गर्ने ओहोदामा पुगेकी निशा मेहताकै पालामा नर्सहरूको माग पूरा गराउन आमरण अनशनको सहारा लिनुपरेको छ । यो स्वयम् स्वास्थ्यमन्त्री मेहताकै लागि पनि दुःखद कुरा हो, जसका कारण उनले संवादबाट नै समस्याको समाधान खोज्न आफू प्रतिबद्ध रहेको जनाउँदै वार्ता गरेकी छिन् ।