देश

प्रदेशको अस्थिरता, मुख्यमन्त्री बन्न हानथाप, ओली–प्रचण्ड रिझाउन नेता दैलोदैलोमा, माधव किन रिसाए ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– सातबुँदे सहमति गरेर प्रदेशमा सत्ताधारी दलको हैसियतमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन तुहिएपछि प्रदेशमा फेरि नयाँ सरकार गठनका लागि गृहकार्य भइरहेको छ । सातबुँदेबाट तीनबुँदेमा सहमति जनाएको एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग मिलेर फेरि कम्युनिस्ट शक्ति एक ठाउँमा उभिँदै प्रदेशको नेतृत्व सम्हाल्ने भएको हो । प्रदेश सरकारमा स्थिरता कायम गर्ने उद्देश्यका रूपमा व्याख्या गर्दै दुवै दलबीच कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले, तथा कर्णाली र सुदूरपश्चिममा नेकपा र मधेश तथा गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमतिपत्रमा प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने र सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई तीव्र बनाउने उल्लेख छ । सहमतिअनुसार नै प्रदेशमा तोकिएको पार्टीले नै नेतृत्व गरेर नयाँ सरकार बन्ने भएपछि मुख्यमन्त्री बन्नेहरूको दौडधुप पनि बाक्लिएको छ । एमालेले नै नेतृत्व गरिरहेको कोशी प्रदेश पुनः एमालेकै भागमा परे पनि यहाँ पात्र फेरिने सम्भावना देखिएको छ । हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर संसदीय दलका उपनेता रहेका तिलकबहादुर मेन्याङ्बोलाई प्रदेशको नेतृत्व सुम्पिने एमाले नेतृत्वको तयारी छ । जसका लागि अध्यक्ष ओलीले मेन्याङ्बोलाई आफ्नो निवास गुण्डुमा नै बोलाएर मुख्यमन्त्रीबारे छलफल गरेका थिए ।