देश

बालेन सरकारमाथि विदेशीको चलखेल, रवि र बेनको दौडधुप, राजदूत फकाउँदै बालेन, टर्ला भूराजनीतिक संकट? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको चार महिना नपुग्दै विभिन्न विवाद र आलोचनाको भुमरीमा फस्दै आएको छ । सरकारको त्रुटिपूर्ण कार्यसम्पादन र कार्यशैलीले जनस्तरबाटै पैदा गरेको आक्रोशका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै प्रधानमन्त्री बालेन्द्र शाहमाथि दबाब बढिरहेको छ । सुरुवाती चरणमै चौतर्फी दबाबमा परेका प्रधानमन्त्री शाह अहिले कूटनीतिक हिसाबले झनै ठूलो दबाबमा छन् । जहाँ परम्परागत कूटनीतिलाई तोड्दै नयाँ मानक स्थापना गर्न खोजेका शाहमाथि नै ‘ब्याकफायर’ भएपछि अहिले उनी आफैँ कूटनीतिक दबाबमा परेका हुन् । आफ्नै पार्टी र सरकारबीच कूटनीतिक तादात्म्य नमिल्दा एक्लिएका शाह उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतको कूटनीतिक चेपुवामा परेका छन् । यता पार्टी सभापति रवि लामिछानेलाई भारतले ओछ्याएको ‘रेड कार्पेट’ देखि उनको आगामी चीन भ्रमणले आफू पछाडि परिने संशयमा रहेका प्रधानमन्त्री शाह अहिले कूटनीतिक सन्तुलन मिलाउन सक्रियता बढाइरहेका छन् । जहाँ पछिल्लो समय नेपाल सरकारप्रति असन्तुष्ट रहेको भारतलाई फकाउन शाहले आफ्ना प्रमुख सल्लाहकार कुमार बेन्जेनकारलाई सुटुक्क भारत पठाएको विषयले उनीमाथिको दबाबलाई स्पष्ट पारिदिएको छ ।