देश

रविको भित्री तयारी भीषण, मोदीपछि सीलाई भेट्ने, मुद्दाको अड्को, बालेनको हेपाई चर्को, कोर टिम नै संकटमा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले आफ्नै सरकारको चेपुवामा परेका छन् । सरकारमा सहभागी भएका आफूनिकट मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन शाहले बाइपास गर्न थालेपछि सभापति लामिछाने थप सङ्कटमा पर्दै गएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यक्षेत्रमाथि नै प्रधानमन्त्री शाहले हस्तक्षेप गर्दै उनलाई मन्त्री पदबाट हटाउनेसम्मको तयारी गरिरहेका छन् । प्रधानमन्त्री शाहले वाग्लेबाट नतिजा खोजिरहेका छन् । तर अर्थमन्त्री वाग्ले भने आफ्नो बचाउमा उत्रिँदै प्रधानमन्त्रीकै निर्देशनअनुसार नतिजा देखाउन काम गरिरहेको दाबी गर्छन् । बिहीबार आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरुको भेलालाई सम्बोधन गर्दै उनले विधिपूर्वक काम गर्न र नतिजा देखाउन आफूलाई प्रधानमन्त्री शाहले निर्देशन दिएको उल्लेख गरे । प्रधानमन्त्रीले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको अर्थमन्त्री वाग्लेले बताए ।
त्यसो त नयाँ बजेट ल्याउँदा प्रधानमन्त्रीसँग समन्वय नभएको, विद्युतीय गाडी आयातमा भन्सार छली गर्न मतियार बनेको र करका दरमा हेरफेर गर्दै नागरिकको ढाड सेक्ने गरी शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा कर लगाएपछि अर्थमन्त्री वाग्लेको चौतर्फी विरोध भयो । नागरिकमा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री शाह आफैँ सक्रिय हुँदै शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्नुपर्यो ।