देश

बीपीको उत्तराधिकारी बन्ने होडबाजी, शशांक नै विद्रोही, गगनको कब्जामा रुख, इतरपक्षको रुवाबासी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपालको राजनीतिक इतिहासमा थोरै मात्र यस्ता नामहरू छन्, जुन नामहरु युगौँयुगसम्म पनि बिर्सिने छैनन् । ती नामहरूमध्येकै एक नाम हो— विश्वेश्वरप्रसाद कोइराला अर्थात् बीपी कोइराला । यो केवल नाम मात्रै नभएर नेपालको राजनीतिक, सामाजिक र साहित्यिक इतिहासको एउटा युग र चेतना पनि हो । जहाँ बीपीकै दूरदर्शी चिन्तन, सोच, दर्शन र दृष्टिकोणले नेपालको समग्र राजनीति र राज्य व्यवस्थालाई नै दशकौँदेखि मार्गनिर्देश गरिरहेको छ । कोइराला केवल नेपाली कांग्रेसका लागि मात्रै आदर्श पुरुष नभएर नेपाली राजनीतिकै आदर्श, दूरदर्शी चिन्तक र जनक्रान्तिका नायकका रूपमा चिनिन्छन् । नेपालमा राजनीतिक स्वतन्त्रतासँगै सामाजिक न्याय र समानतामा आधारित ‘लोकतान्त्रिक समाजवाद’ को अवधारणा अघि सारेका उनलाई प्रजातान्त्रिक समाजवादका प्रणेता पनि भनिन्छ । २००७ सालमा बीपीकै नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनले देशमा प्रजातन्त्रको सुरुवात मात्रै गरेन, त्यही आन्दोलनको जग र दूरदृष्टिले नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसम्म ल्याई पु¥यायो । त्यसैले उनलाई युगपुरुष र जननायकका रूपमा व्याख्या गरिन्छ । जहाँ बीपीकै नाम, सिद्धान्त, विचार र आदर्शहरूलाई बेचेर नेपाली कांग्रेसले ७ दशकदेखि नेपालको राष्ट्रिय राजनीति र राज्यसत्तामा आफ्नो छुट्टै पहिचान बनायो । तर विडम्बना, कहिल्यै पनि बीपीका विचार, सिद्धान्त र आदर्शलाई आत्मसात् गर्न सकेन ।