देश

सातै प्रदेशको सत्ता धरापमा, ओली गम्भीर संकटमा, सत्ता यात्रा गर्दै प्रचण्ड, गगनसँग भागबन्डा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– २०८१ असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिमा प्रदेशको सत्ता गठबन्धनमा आएको उथलपुथलले ब्रेक लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबिच भएको सहमति अनुसार सातै प्रदेशमा सत्ता गठबन्धन भएको थियो । जसमा कांग्रेसले मधेश, बागतमी, सुदूरपश्चिम र गण्डकी गरी चार प्रदेशको नेतृत्व गरेको थियो भने कोशी, लुम्बिनी र कर्णाली गरी तीन प्रदेशको नेतृत्व नेकपा एमालेले गरेको थियो । तर, पछिल्लो समय आर्थिक वर्ष २०८३÷०८४ को बजेटले सत्ता गठबन्धनभित्र निम्त्याएको विवादका कारण कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेसँगै सबै प्रदेशको सत्ता गठबन्धन नै भत्किएको छ । कांग्रेसले जेन–जी विद्रोहलाई हेर्ने राजनीतिक दृष्टिकोण र प्रदेश सरकारका हकमा गरिनुपर्ने व्यवहारमा इमानदारी नपाइएको भन्दै २ वर्षअघिको सम्झौतामा ब्रेक लगाएको हो । योसँगै सातवटै प्रदेशमा नयाँ सत्ता समीकरणको चर्चा पनि चुलिएको छ । जहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) यी तीन दलमध्येबाटै नयाँ समीकरण बन्ने देखिएको छ । अर्थात कांग्रेस–एमाले गठबन्धन टुटेसँगै अब नयाँ बन्ने समीकरणमा नेकपा निर्णायक बन्ने देखिएको छ । जसले गर्दा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जादुयी सिट संख्याको जादु फेरि एक पटक प्रदेश सरकारमा चल्नेछ । सरकार गठन गर्न दुई दल मिल्नै पर्ने बाध्यात्मक अवस्थाका कारण नेकपाले कांग्रेस र एमालेमध्ये जोसँग सहकार्य गर्न चाह्यो, त्यही दल नै सत्ता गठबन्धनमा सामेल हुने देखिन्छ ।