देश

रास्वपाको भीषण शक्ति, कानुन निर्माणमा सुस्त, सांसदलाई एक्कासी छुट्टी, सोविताको विधेयकका ताँती (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई–तिहाइ नजिकको बलियो सरकार संसदमा बिजनेसविहीनताको नियतिमा पुगेको छ । बाह्य रूपमा अभूतपूर्व शक्ति र बलियो जनादेशको सरकार देखिए पनि यतिबेला संसद् बैठक र सरकार सञ्चालनमा रास्वपाले केही गम्भीर तथा व्यावहारिक कठिनाइहरूको सामना गरिरहेको छ । यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकार हुँदा पनि संसद्ले पटक–पटक बिजनेसविहीनताको नियति भोगेको थियो । संसद् बिजनेसविहीन हुनुको मुख्य कारण सरकारले पर्याप्त मात्रामा नयाँ विधेयकहरू दर्ता नगराउनु र विवाद वा सहमतिको अभावमा पुराना महत्त्वपूर्ण विधेयकहरू अगाडि बढ्न नसक्नु हो । अहिले संसद्को बर्खे अधिवेशन चलिरहेको अवस्थामा एकैपटक दुई साताका लागि स्थगित गरिएको छ । बलियो सरकारलाई आखिर संसद् सञ्चालनमा किन यस्तो सकस भइरहेको छ ? संसद् सञ्चालनमा देखिएका मुख्य चुनौतीहरू के–के हुन् त भन्ने प्रश्न उठेको छ ।