देश

बालेनले विष्णु उठाएपछि जुर्मुरायो एमाले, छुटाउन वकिलको लर्को, बहसमा चर्काचर्की, ‘राज्य आतंक’ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सम्पत्ति शुद्धीकरणको छानबिन र कुख्यात बिचौलिया दीपक भट्टसँगको कनेक्सन रहेको आशङ्कामा प्रहरीले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेपछि यतिबेला पार्टीमा हलचल पैदा भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा उनलाई सोमबार सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । माइक्रो बसमार्फत सडक मार्ग हुँदै मंगलबार बिहान काठमाडौं ल्याइएका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो । विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालतमा पेस गरिएको थियो । तर, यसै विषयलाई लिएर एमालेका नेता–कार्यकर्ता रुष्ट बनेका छन् । पार्टी अध्यक्षदेखि महासचिव, सचिव हुँदै अधिकांश पदाधिकारी र नेताहरूले समेत सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै विज्ञप्ति निकालेर सरकारको कदमको भत्र्सना गरेका थिए भने, महासचिव शङ्कर पोखरेलले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राज्यका न्यायिक र अनुसन्धानमूलक निकायहरू स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा अदृश्य शक्तिकेन्द्रबाट सञ्चालित भएको आरोप लगाएका छन् । त्यस्तै, सचिव महेश बस्नेतले पौडेलको पक्राउलाई ‘कुखुरा मरेको भन्दा पनि स्याल पल्केको’ अर्थमा व्याख्या गरेका छन् । विष्णु पौडेलको पक्राउपछि छटपटीमा परेको एमालेले मङ्गलबार नै संसदीय दल र सचिवालय बैठक बोलायो । पौडेलको पक्राउ सरकारको प्रतिशोधपूर्ण राजनीतिको परिणाम भएको निष्कर्ष निकाल्दै एमाले प्रतिकारमा उत्रने तयारीमा छ ।