काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू भएको छ । चितवनको गेस्ट हाउस चउरमा उद्घाटन समारोह भएको महाधिवेशनको बन्द सत्र भने चितवन प्रदर्शनी केन्द्रमा हुँदैछ । बन्द सत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव लगायत अन्य प्रस्तावमाथि छलफल हुनेछ । रास्वपाले बन्द सत्रसँगै निर्वाचन कार्यक्रम पनि सँगसँगै अघि बढाउदैछ ।
आज दिउँसो १ बजेदेखि पहिलो चरणको निर्वाचन अर्थात पार्टी सभापति र केन्द्रीय सदस्यको उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फाराम वितरण सुरू गरिने छ । दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गरिने छ । साँझ ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क सचिवालयमा नामावली प्रकाशन गरिने जनाइएको छ उम्मेदवारहरूविरूद्ध दाबी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि १ घण्टा दिइएको छ । ७ बजेदेखि ९ बजेसम्म दाबी परेका उम्मेदवारहरूबारे जाँचबुझ गरिने छ ।
राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ । राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । भोलि बिहान ७ बजेदेखि साढे ८ बजेसम्म मौन अवधि तोकिएको छ । त्यसपछि साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ । त्यसपछि दोस्रो चरणको अर्थात पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू हुनेछ ।


प्रतिक्रिया