देश

रास्वपाको कुम्भमेला, लोभ लाग्दो रवि–बालेन क्रेज, गगनसँग अंकमाल, तोडियो राजनीतिक ‘डेडलक’ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय अधिवेशन चितवनमा सुरु भएको छ । पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा रास्वपाले भरतपुरमा पहिलो महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ । यस क्रममा उद्घाटन सत्रमा देखिएका केही दृश्यहरू यतिबेला निकै चर्चामा छन् । आफैँ गाडी हाँकेर महाधिवेशन स्थल पुगेका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछाने सँगै कार्यक्रमस्थलमा प्रवेश गरे । कालो कुर्था, पाइन्ट र चश्मामा सजिएर सेतो टोयोटा गाडीमा सवार शाह र लामिछाने वर्षाका कारण छाता ओढेर मञ्चतर्फ लाग्दा रातो कार्पेट नभई नीलो कार्पेट हुँदै मञ्चमा उक्लिएका थिए । मञ्चमा पुगेपछि एकअर्काको हात समातेर उपस्थित प्रतिनिधि र शुभचिन्तकलाई अभिवादन गरे । अभिवादनपछि सुरुमै रविले कांग्रेस सभापति गगन थापासँग हात मिलाउँदै अङ्कमाल गरे । यो दृश्य धेरैको नजरमा पर्यो, किनकि विगत केही वर्षदेखि कांग्रेस सभापति थापा र लामिछानेबीचको राजनीतिक टकरावका कारण बढेको मनमुटाव सार्वजनिक मञ्चमा नै देखिँदै आएको थियो । एकअर्काप्रति कडा आरोप–प्रत्यारोपमा उत्रिएका उनीहरूले सौहार्दपूर्ण रूपमा गरेको अङ्कमालले धेरैको ध्यान खिचेको छ । गगनले अन्तिम समयमा आएर मात्रै महाधिवेशनमा जाने निर्णय गरेकाले पनि उनीहरूको भेटलाई लिएर पहिले नै चर्चा चुलिएको थियो ।