देश

सदनका ओस्ताद ः कुट्नै तम्सिन्छन्, आशिका र ऐन जस्ता उग्रहरुको फेहरिस्त, डीपीको कारबाही कस्तो ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— देशको नीति निर्माण गर्ने मूल थलो प्रतिनिधि सभामा पछिल्लो समय सांसदहरूले देखाएको उग्रता र अराजक हर्कतले सदन ‘बक्सिङ रिङ’ जस्तो देखिन थालेको छ । स्वस्थ बहस र संस्कारयुक्त मर्यादित व्यवहार प्रस्तुत गर्दै देशको कानुन निर्माण गर्ने जिम्मेवारी पाएका सांसदहरू नै आपसमा भिड्न तम्सिएपछि संसदीय मर्यादा, अनुशासन र संस्कारकै धज्जी उडेको छ । संसद नीति–निर्माणको थलो मात्र नभएर पदीय मर्यादा कायम गर्दै सार्वजनिक संस्कार र राष्ट्रिय अनुशासन प्रदर्शन हुने उच्चतम दृष्टान्तस्थल पनि हो । तर, पछिल्ला दिनमा सांसदहरूले देखाएका हर्कतले संसदको गरिमामाथि नै प्रश्न उठ्न थालेको छ । जहाँ कोही सभामुखको माइक खोस्न हानाथाप गरिरहेका देखिन्छन्, त कोही विपक्षी सांसदमाथि जाइलाग्न तम्सिन्छन् । यस्तै सदनमा हात हालाहालकै स्थिति सिर्जना हुँदा पनि संसदको सर्वोच्च पदमा रहेका सभामुख डीपी अर्याल निर्लज्ज भएर सदन चलाइरहेका छन् । गत आइतबारको संसद बैठकमा देखिएका यी दृश्यले सबैको ध्यान केन्द्रित गरेको छ । कहिल्यै संसद बैठक नहेर्ने नेपालीहरूले समेत कुनै ‘ब्लकबस्टर फिल्म’ जस्तै आइतबारको संसद बैठक बडो चासोका साथ हेरे । तर, प्रतिपक्ष र सत्तापक्षका केही सांसदले देखाएको यो अमर्यादित हर्कतले सिंगो व्यवस्थापिकाको मानमर्दन गरेको छ । आइतबार मात्रै नभएर सुरुवाती दिनदेखि नै केही सांसदको अमर्यादित शैलीले चर्चा पाइरहेको छ । अब संसदमा ताण्डव मच्चाउन खोज्नेहरू को–को हुन्, त्यो हेरौँ ।