देश

जागे पुराना दल, सडक र सदन तताउँदै, रास्वपाको दुईतिहाइ सत्ता गल्दै, बालेन र रविलाई पर्ला भारी ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसददेखि सभामुखसम्म अनुसन्धानको घेरामा तानिएपछि पुराना दलहरू आक्रामक बनेका छन् । दुई महिनाअघि सार्वजनिक भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले जोगाएकाहरूलाई पनि मानव अधिकार आयोगको प्रतिवेदनले कानुनी कठघरामा उभ्याउन बाध्य पारेपछि सत्तापक्षमाथि हमला गर्न मुद्दा खोजिरहेकाहरू हौसिएका हुन् । नेकपा (एमाले) ले भदौ २३ र २४ गते भएको आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन त्रुटीपूर्ण भएको भन्दै पटक–पटक सदनमा प्रश्न उठाउँदै आएको थियो । यस्तो अवस्थामा संवैधानिक निकाय मानव अधिकार आयोगकै प्रतिवेदनले कार्की आयोगले नदेखेका कयौँ तथ्य–प्रमाण सार्वजनिक गरेपछि प्रतिपक्षीलाई थप बल पुगेको छ । एमाले नेता महेश बस्नेत लगायतले सिफारिस गरिएका वास्तविक दोषीलाई कारबाही गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसले पनि कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको उल्लेख गर्दै आएको थियो । अहिले मानव अधिकार आयोगले उच्चस्तरीय जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि दोष देखाउँदै उनीमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेपछि, कार्की आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै कांग्रेसले विज्ञप्ति नै निकालेको छ ।