देश

बालेनको बोली, रविको दिल्ली यात्रामा झट्का, मोदीसँगको भेट फिक्स्ट, बन्ला त ऐतिहासिक ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सत्ताको साँचोसहित शक्तिशाली बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनदेखि प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतका प्रभावशाली व्यक्तिहरूसँग भेट्ने कार्यक्रम तय भएको छ । भारतका प्रमुख व्यक्तिहरूसँग हुने एक्लाएक्लै भेटले नेपाल–भारत सम्बन्धलाई कस्तो उचाइ देला ? भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यसअघि भारतले प्रधानमन्त्री बालेन शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देश पठाउँदै भारत भ्रमणको निम्तो पनि दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय हुन सकेको छैन । उनी भारत भ्रमणमा जानुअगावै पार्टी सभापति लामिछाने भारत जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चिसिएको नेपाल–भारत सम्बन्ध बालेन शाह प्रधानमन्त्री भएको दुई महिना बितिसक्दा पनि सुध्रिन सकेको छैन । प्रधानमन्त्री शाहको भ्रमणअघि भारतले गत मे ११ मा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई दुईदिने नेपाल भ्रमणमा पठाउन लागेको थियो । तर, यो भ्रमण अन्तिम समयमा आएर रोकियो । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल यही जेठ १८ गते भारत जाने तयारीमा थिए । तर उनी सहभागी हुने भनिएको सम्मेलन नै स्थगित भएपछि परराष्ट्रमन्त्रीको भारत भ्रमण पनि रोकियो । योसँगै नेपाल–भारतबीच सरकारी तवरबाट हुने भ्रमण अन्योलमा परेको छ ।

https://youtu.be/XWGdGwG5AkU?si=OAGF8lNPT0eJ9_nQ