काठमाडौं— संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर पटकपटक प्रतिनिधिसभा बैठक अवरोध हुँदै आएकोमा आइतबारको बैठकमा भने प्रधानमन्त्रीले सबैलाई चकित पार्दैै प्रश्नोत्तरमा सहभागी भए । सबै ठाउँमा ‘क्रमभंगता’ को आरोप खेप्दै आएका प्रधानमन्त्री शाहले संसद्को प्रश्नोत्तर कार्यक्रममा पनि सोही शैली अपनाउँदै अचानक सहभागिता जनाए । सभामुख डीपी अर्यालको अनुमतिपछि उनी रोस्ट्रममा पुगेर प्रश्नको सामना गरे । यसअघि तीन दिनअघि नै संसद् सचिवालयमा प्रश्न टिपाएर प्रधानमन्त्रीले तयारीसहित जवाफ दिने अभ्यासलाई तोड्दै विना तयारी उपस्थित हुँदा उत्तर तथ्यपरक नभएको र सबै विषय समेट्न नसकेको भन्दै सांसदहरूले टिप्पणी गरे । प्रश्नको तयारी गर्न नपाएका प्रतिपक्षी दलका सांसदहरू जल्दाबल्दा विषयमा प्रश्न गर्न चुके । केही सांसदले बाँदर आतंक र सुकुम्बासीका विषय राखे पनि जनसरोकारका धेरै विषयमा प्रश्नै उठाएनन् । प्रधानमन्त्री सदनप्रति उत्तरदायी नभएको र प्रश्नको सामना गर्न नसक्ने भन्दै कुर्लिने गरेका सांसदहरूले आठ अध्यादेश, प्रधानन्यायाधीश नियुक्ति, ट्रेड युनियन खारेजी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई लगाइएका झुटा मुद्दा जस्ता विषयमा समेत सही ढङ्गले प्रश्न उठाउन सकेनन् । पटकपटक संसद् अवरोध गर्नेहरूले बल्लतल्ल पाएको मौकाको सदुपयोग गर्न नसक्दा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै फितलो बन्न पुग्यो । प्रधानमन्त्रीले पेचिला र छोटा जवाफ दिए पनि सबै प्रश्नको उत्तर दिन बिर्सिंदा सभामुखले प्रश्न स्मरण गराउनुपरेको थियो ।
देश


प्रतिक्रिया