काठमाडौं— दुवै सदनको संयुक्त बैठकलाई दिउँसो ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । संसद् सचिवालयका अनुसार राष्ट्रपतिले सम्बोधन गर्नुअघि सोमबार दिउँसो २ बजे नै प्रतिनिधिसभा बैठक सुरु हुनेछ । त्यस क्रममा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम तय भएको छ । त्यस्तै, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसदहरूको मनोनयन हुने र प्रतिनिधि सभा नियमावली २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ पेस गर्नेछन् । त्यस्तै, सरकारले ल्याएका अध्यादेशहरू समेत सोमबारको संसद् बैठकमा पेस हुनेछन् । अध्यादेश जारी भएको ६० दिनभित्र संसद्मा पेस गरी पारित गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले केही दिन अघि आठवटा अध्यादेश ल्याएको थियो । तीमध्ये प्रधानमन्त्री बालेन्द्र शाहले ३ तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, स्वास्थ्य मन्त्री निशा मेहता र शिक्षा मन्त्री सस्मित पोखरेलले एक–एक अध्यादेश संसद्मा पेस गर्ने कार्यसूची रहेको छ । त्यसपछि अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
देश


प्रतिक्रिया