देश

नयाँ गृहमन्त्रीको खोजी, बालेनमाथि दबाब बढाउँदै रवि, छानबिनमा ढिलाई, फर्कने सुधनको तयारी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— वालेन्द्र शाह नेतृत्वको सरकारमा सुरुवाती चरणदेखि नै आफ्नो काम र ‘एक्सन’का कारण चर्चामा कोही थिए भने, ती तत्कालीन गृहमन्त्री सुधन गुरुङ नै हुन् । तर, सुरुवातमै आक्रामक देखिएका गुरुङ विवादित लगानी प्रकरणमा तानिएपछि २६ दिनमै राजीनामा दिन बाध्य भए । धेरैले अनुमान गरेका थिए— उनले कि त राजीनामा दिने छैनन्, दिए पनि अनुसन्धान सकिएर पुनः कुर्सीमा फर्किनेछन् र बिचौलियादेखि अपराधीसम्मलाई जेलको हावा खुवाउनेछन् । तर, अहिले सुधन कहाँ छन् र के गर्दैछन् भन्ने अत्तोपत्तो छैन । गुरुङले ‘हाईप्रोफाइल’ व्यक्तिहरूलाई पक्राउ गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका थिए । उनले त पक्राउ गर्नेहरूको सूची नै तयार पारेका थिए । तर, उनको राजीनामापछि पक्राउको सिलसिला ठप्पजस्तै छ । यद्यपि, उनको बहिर्गमनपछि पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्, जसको नाम सुधनले नै तयार पारेको सूचीमा समावेश थियो । उता, उनले पक्राउ गरेका व्यक्तिहरू धमाधम छुट्न थालेपछि सरकारमाथि ‘ब्याक फायर’ भएको छ । सरकारी मुद्दाहरूमा प्रहरीले असफलता बेहोरिरहेको छ भने कतिपय विरुद्ध प्रमाण जुटाउन समेत प्रहरी असमर्थ देखिएको छ ।