देश

अझै बालेनको निसानामा ओली, पत्तासाफ हुँदा पनि छोडेनन्, गाडी खोसियो, कार्यालय खाली गराइयो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— अघिल्लो निर्वाचनताका देशकै सर्वाधिक लोकप्रिय रहेको नेकपा एमाले अहिले भने नराम्ररी थला परेको छ । तर, फागुन २१ को चुनावी परिणाम, पार्टीभित्रको आन्तरिक टकराव र रास्वपा नेतृत्वको सरकारको निर्णयले तल्लो तहसम्म नै बलियो सङ्गठन रहेको एमालेलाई एकै पटक रक्षात्मक अवस्थामा पु¥याइदिएको छ । नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्दा अप्ठ्यारोमा परेको एमाले त्यसपछि गरिएका सरकारका निर्णयहरूले थप समस्यामा परेको छ । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथिको दोहन अन्त्य गर्न सरकारी सवारी साधन प्रयोगमा कडाइ गरेपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रयोग गर्दै आएको सरकारी गाडीसमेत खोसिएको छ । सरकारको कडाइपछि ओलीले दोहोरो सुविधाबापत् लिएको गाडी बुधबार सरकारलाई फिर्ता गरेका थिए । त्यस्तै, यतिबेला सरकारको एउटा सूचनाले च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय पनि हट्ने निश्चित भएको छ । ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित)’ को प्रावधानअनुसार भोगाधिकार प्राप्त भए पनि हालसम्म लिजमा रूपान्तरण नगरेका जग्गा तत्काल खाली गर्न निर्देशन दिएपछि एमालेको कार्यालय तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान परिसरबाट हट्नुपर्ने भएको हो ।