देश

रास्वपा ः स्थानीय निर्वाचन केन्द्रित, मेयर–वडाध्यक्ष बन्न तोकियो मापदण्ड, मन्त्री र सांसदको भन्दा कडा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रतिनिधि सभा निर्वाचनमा देशव्यापी रूपमा चामत्कारिक नतिजा निकाल्दै बलियो शक्तिको रूपमा उदाएको रास्वपा २०८४ मा हुने स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित भएको छ । २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा २१ सिट जिते पनि प्रदेश सभा र स्थानीय तहमा भने कमजोर जनाधारका कारण रास्वपाले भाग लिएको थिएन । तर, २०८२ को निर्वाचनमा भारी बहुमतसहित सङ्घीय सरकारको नेतृत्व गर्न सफल भएसँगै देशव्यापी रूपमा बढेको जनसमर्थनलाई स्थानीय तहमा समेत आफ्नो पक्षमा पार्ने रणनीति रास्वपाले बनाएको छ । यसका लागि पार्टीले उम्मेदवार छनोट प्रक्रियामा निकै कडाइ गर्ने भएको छ । रास्वपाको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्न अब पार्टीको आन्तरिक छनोट प्रक्रिया पार गर्नुपर्नेछ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हुन ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण हुनै पर्ने प्रावधानसहितको निर्णय गरेको हो । उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोट प्रक्रियालाई सहज र व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’ गठन गरिएको छ । सह–महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ समेत बनाइएको छ ।