देश

बालेन ः हौसिए प्रश्न गर्ने, युट्युबर पक्राउले ब्याक फायर, एमालेले खोज्यो बोली, डाक्टरको पनि काउन्टर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— बालेन शाह नेतृत्वको सरकार बनेको १५ दिन बित्दै गर्दा सरकारले धेरै निर्णयहरू गरेका छन् । कतिपय निर्णयलाई सबैले स्वागत गरेका छन् भने कतिपय सरकारका काम कारबाही र निर्णयहरूप्रति प्रश्न उठेका छन् । सरकार गठन भएयता जनस्तर र राजनीतिक वृत्तमा उठेका पाँच मुख्य प्रश्नहरू के–के हुन् त ? हेरौँ बुँदागत रुपमा ः
१. प्रधानमन्त्रीलाई गाली गर्ने युट्युबर पक्राउ
पाँचथरका रोशन पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन शाहको नाम लिँदै गाली गरेपछि उनलाई पक्राउ गरियो । उनको पक्राउपछि कतिपयले यसलाई प्रेस स्वतन्त्रताको हनन भएको भन्दै प्रश्न उठाए । यद्यपि, उनले प्रयोग गरेका शब्दहरू मर्यादित नभएकाले पक्राउ पर्नु स्वाभाविक भएको तर्क पनि बलियो छ । तर, यस विषयले प्रधानमन्त्री बालेन शाहमाथि नै ‘ब्याक फायर’ भएको छ । हिजोका दिनमा ¥याप गायक भिटेनले अश्लील शब्द प्रयोग गरेको आरोपमा पक्राउ पर्दा बालेन शाहले नै ‘नेपाल प्रहरीको अरू केही काम छैन?’ भन्दै प्रश्न उठाएका थिए । विगतमा ‘बोल्न दे सरकार’ भन्दै गीत बनाउनेदेखि सामाजिक सञ्जालमा नयाँ–पुराना सबै दल र छिमेकी देश तथा मित्रराष्ट्रसम्महरूलाई अपशब्द प्रयोग गर्ने प्रधानमन्त्री शाह अहिले आफूविरुद्ध तिनै शब्द प्रयोग गर्दै अर्को कुनै व्यक्तिले बोल्दा पक्राउ गर्न अग्रसर देखिन्छन् ।