देश

कांग्रेस–एमालेकै हालीमुहाली, राष्ट्रिय सभा कब्जा, प्रचण्ड ‘एक्सपोज’, गगनको असन्तुष्टि, रास्वपा सून्य (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरूबीच भएको तालमेलको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखिएका छन् । राष्ट्रिय शक्ति र संविधान निर्माण गर्ने शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्ने देउवाको राजनीतिक सोचअनुसार कांग्रेस, एमाले र जसपा नेपालबीचको सहकार्य सफल भएको हो । तालमेलको प्रक्रियामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई समेत समेट्ने प्रयास भए पनि सिट बाँडफाँटमा सहमति जुट्न नसक्दा नेकपा एक्लिएको छ । आफ्नो मतभारअनुसार चार सिटको दाबी गरेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माग पूरा नभएपछि पार्टीलाई एक्लै चुनावमा लैजाने निर्णय गरेका हुन् । कांग्रेस र एमालेले नेकपालाई तीन सिटको प्रस्ताव गरे पनि प्रचण्ड त्यसमा सहमत भएनन् । तालमेलको निर्णायक चरणमा कांग्रेस नेता रमेश लेखक देउवाका दूतका रूपमा सक्रिय रहेका थिए । उता, देउवाले मधेशमा गठबन्धन सरकार जोगाइराख्ने रणनीतिअनुसार जसपा नेपालका नेता महन्थ ठाकुरलाई उम्मेदवार बनाएर तालमेललाई औपचारिकता दिएका छन् । कुनै समय ‘सँगै स्वर्ग र नर्र्क’ जाने कसम खाएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच गोप्य संवाद भए पनि आपसी राजनीतिक दूरी झन् बढेको देखिन्छ । रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहबीच देखिएको सहकार्यपछि देउवाको ढोका चहार्न पुगेका प्रचण्डलाई कांग्रेस नेतृत्वले विश्वास नगरेपछि नेकपा थप एक्लिएको छ ।