देश

दिनहुँ मैदानमा देखिन्छन् मन्त्री कुलमान, एकपछि अर्को बोल्ड निर्णय, हितेन्द्र आउट, १० दिनमा के–के भो ?

योहो संवाददाता

काठमाडौं— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको भनाइलाई आधार मान्ने हो भने, यदि कुलमान घिसिङलाई मन्त्रिपरिषद्मा नसमेटिएको भए यो सरकार गठन नै हुने थिएन । उनीप्रतिको यही जनविश्वासका कारण नागरिक सरकारको मन्त्रिपरिषद्मा उनको उपस्थिति पहिलो सर्त बनेको थियो । सडकको मागअनुसार नै घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हालेका छन् । उनीसँग अपेक्षा धेरै भएकाले नै मन्त्री बनेको एक सातामै उनले सम्हालेका मन्त्रालयमा के–कस्ता कामहरू भइरहेका छन् भन्नेमा धेरैको चासो छ । सबैको नजर आफूमाथि केन्द्रित रहेको बुझेका उनले मन्त्री हुनेबित्तिकै आफ्ना मातहतका सबै कर्मचारीलाई १८ घण्टा खटेर काम गर्न निर्देशन दिएका थिए । मन्त्रिपरिषद्मा सबैभन्दा बढी आशा गरिएका उनी सोहीअनुरूप खटिरहेका पनि छन् । तीनवटै मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङ आफैँ आन्दोलनपछि भएको सरकारी संरचनाको क्षतिको निरीक्षण तथा मूल्यांकन गर्न दौडधुप गरिरहेका छन् ।