एसिसी अण्डर सिक्सटिन इस्ट जोन कपमा साविक विजेता नेपाल उपाधिनजिक पुगेको छ । सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपाललाई सहजै जित दिलाउने क्रममा परिमार्जन यादवले अर्धशतकीय योगदान गरे । नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९० रन मात्रै बनाएको थियो । नेपालका लागि अभय यादवले ४ विकेट लिएका थिए । शुभम खनालले ३ तथा सचिन भट्ट र विपिनप्रसाद शर्माले १-१ विकेट लिएका थिए ।
नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेका थिए । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले २ सय २१ रनको जित निकालेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता छ । प्रतियोगिताको फाइनल यही असार २१ गते हुनेछ ।
प्रतिक्रिया