Breaking

राष्ट्रपति रनिङ शिल्डअन्तर्गत उसुको खेलमा प्रहरी तैनाथ गरेर खेल सञ्चालन


काठमाडौं—काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्डअन्तर्गत आज उसुको खेल निर्धारित समयमा सुरु हुन नसकेपछि प्रहरी तैनाथ गरेर खेल सञ्चालन गरिएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा उसु खेलका दुई महासंघबीचको विवादका कारण प्रहरी नै तैनाथ गरेर खेल सञ्चालन गर्नुपरेको थियो । झडपकै स्थिति सिर्जना भएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । यसबारेमा बुझ्दा प्रहरीले भने कुनै झडप नभएको जनाएको छ ।

त्यहाँ भएका पदाधिकारीहरूले पनि केही विवाद नभएको बताइरहँदा एक कर्मचारीले भने तालाबन्दी गर्न सक्ने देखिएपछि प्रहरी तैनाथ गरेर सम्भावित विवाद हुन नदिएको बताए । नेपाल उसु महासंघको नाममा दुई संघ अस्तिस्वमा रहेकोले पनि पछिल्लो समयम उसुमा विवाद देखिँदै आएको थियो ।

शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको उसु महासंघलाई सरकारी मान्यता छ भने अर्को उसु महासंघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छ र अन्तर्राष्ट्रिय मान्यता छ । दुवै महासंघ मिलाएर एकै महासंघ बनाउन प्रयास भएपनि त्यो सफल हुन सकेको छैन ।

दुवैले आफू नै मुख्य पदमा हुनुपर्ने माग राखेपनि यो विवाद मिल्न सकेको छैन । रनिङ शिल्डमा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । प्रतियोगिता शुक्रवारसम्म जारी रहने छ ।