Breaking

राष्ट्रपति रनिङ शिल्डअन्तर्गत उसुको खेलमा प्रहरी तैनाथ गरेर खेल सञ्चालन

योहो संवाददाता

काठमाडौं—काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्डअन्तर्गत आज उसुको खेल निर्धारित समयमा सुरु हुन नसकेपछि प्रहरी तैनाथ गरेर खेल सञ्चालन गरिएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा उसु खेलका दुई महासंघबीचको विवादका कारण प्रहरी नै तैनाथ गरेर खेल सञ्चालन गर्नुपरेको थियो । झडपकै स्थिति सिर्जना भएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । यसबारेमा बुझ्दा प्रहरीले भने कुनै झडप नभएको जनाएको छ ।

त्यहाँ भएका पदाधिकारीहरूले पनि केही विवाद नभएको बताइरहँदा एक कर्मचारीले भने तालाबन्दी गर्न सक्ने देखिएपछि प्रहरी तैनाथ गरेर सम्भावित विवाद हुन नदिएको बताए । नेपाल उसु महासंघको नाममा दुई संघ अस्तिस्वमा रहेकोले पनि पछिल्लो समयम उसुमा विवाद देखिँदै आएको थियो ।

शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको उसु महासंघलाई सरकारी मान्यता छ भने अर्को उसु महासंघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छ र अन्तर्राष्ट्रिय मान्यता छ । दुवै महासंघ मिलाएर एकै महासंघ बनाउन प्रयास भएपनि त्यो सफल हुन सकेको छैन ।

दुवैले आफू नै मुख्य पदमा हुनुपर्ने माग राखेपनि यो विवाद मिल्न सकेको छैन । रनिङ शिल्डमा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । प्रतियोगिता शुक्रवारसम्म जारी रहने छ ।