Breaking

पहिलोपटक बेंगलुरुले जित्यो आईपीएलको उपाधि


काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।

शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।