खेलकुद

थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित, च्याम्पियन बन्ने सपना पुरा हुन सकेन


काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाएपछि पराजित हुन पुगेको हो । महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि थाइल्यान्डले हात पारेसँगै च्याम्पियन बन्ने नेपाली टोलीको सपना पुरा हुन सकेन ।

नेपालका लागि कविता कुवँरले बनाएको २४ रन नै सर्वाधिक रह्यो। ३३ बलमा १ चौका प्रहार गरेकी कविता रन आउट हुन पुगिन्।

रुविना क्षेत्री १२ रनमा क्याच आउट हुन पुगिन्। १९ रन बनाउँदा रिटायर्ड हर्ट भएकी राजमति ऐरी रुविना आउट भएपछि पुनः क्रिजमा आएकी थिईन्। उनी २० रनमा अविजित रहिन्।

सम्झना खड्का ९, कप्तान इन्दु बर्मा ७ र रुवि पोडार ४ रनमा पेभेलियन फर्के। पुजा महतो, रोमा थापा र इश्वरी विष्ट शुन्य रनमा नै आउट भए।

थाइल्यान्डकी ओनिचा कोन्चोम्फुले १९ औँ ओभरमा ह्याट्रिक विकेट लिइन्। त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो।

थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाएकी थिइन् ।