खेलकुद

एन्फाको साधारण सभामै लफडा, गणेश थापालाई रोकेपछि बबन्डर


अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईले शक्तिको आडमा कानुनलाई नै आफ्नो हातमा लिएर अघि बढेका छन् । आफूलाई सर्वेसर्वा ठानेका उनीहरू मैमत्तामा रम्दा कानुनी राज्यमा अदालतको आदेशको पनि धज्जी उडाउने काम भएको छ । ए

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) नेपाली फुटबल र खेलाडीको विकास गर्ने संस्थाभन्दा पनि गुण्डागर्दी गर्नेहरूको अखडा बनेको छ । देशको कानुन, फिफाको नियम र एन्फाको आफ्नै विधान अनुसार सङ्घ चल्नु पर्ने भए पनि एन्फा नेतृत्वले ती सबैको धज्जी उडाउँदै गुण्डागर्दी शैलीमा सङ्घ चलाइरहेको छ । शुक्रबार धुलिखेलमा भएको एन्फाको साधारण सभामा जे देखियो, त्यसले पनि एन्फा नीति नियम र विधानलाई रद्दीको टोकरीमा मिल्क्याएर अध्यक्ष र महासविचको बाहुबलमा चलेको आरोपलाई पुष्टि गरेको छ ।

१० वर्षपछि एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुन उच्च अदालत पाटनबाट आएको आदेशको प्रतिलिपिसहित धुलिखेल पुगेका एन्फाका पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापालाई अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईको निर्देशनमा गेटमै रोक्ने काम भयो । यसले एन्फाभित्र वर्षांैदेखि चल्दै आएको गुण्डागर्दी र दादागिरीको कर्तुत सतहमा आएको छ । उच्च अदालतको अन्तरिम आदेशलाई अटेर गर्दै थापा बाबुछोरालाई साधारणसभा प्रवेशमा रोक लगाउन पाखुरे केटाहरु नै तैनाथ गराएको एन्फा नेतृत्वले जोरजुलुम गर्दा स्थिति तनावपूर्ण त बन्यो नै एन्फामा गुण्डाराज चलेको पनि छर्लङ्ग भएको छ ।

गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारण सभामा गएका थिए । एन्फाको विधान अनुसार साधारण सभा हुनु १० दिन अगावै प्रतिनिधिहरूको नामावली सचिवालयमा पेश गर्नु पर्ने व्यवस्था छ । विधानको धारा २६ को उपधारा (२) र (४) अनुसार तोकिएको ढाँचा बमोजिम नै वैशाख १५ गते बी डिभिजनको आरसी ३२ क्लबले गणेश थापालाई प्रतिनिधि बनाएर नामावली पेश गरेको थियो ।

तर, गणेश थापाले आफूलाई साधारण सभामा सामेल हुन नदिन चलखेल हुन सक्ने चाल पाएपछि उच्च अदालत पाटनमा थापाले आफूलाई नरोक्न अन्तरिम आदेश माग गर्दै रिट निवेदन दिएका थिए । वैशाख २१ गते एन्फाको साधारण सभामा सहभागी हुन निवेदकलाई कुनै वाधा व्यवधान र अवरोध नगर्न नगराउन भन्दै अदालतले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । थापालाई एन्फाको साधारण सभामा भाग लिन अदालतले बाटो खोलिदिए पनि उनलाई प्रवेश दिन नमिल्ने अडान लिँदै अदालतको यो आदेश रद्द गराउन एन्फाले उच्च अदालतमा भ्याकेट निवेदन दिएकोमा अदालतले त्यो पनि अस्वीकार गरिदिएको थियो ।

त्यस्तै काठमाडौं जिल्ला फुटबल सङ्घले पनि आफूलाई प्रतिनिधिका रुपमा चयन गरिसकेपछि साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित हालेको रिटमा उच्चले नरोक्न भन्दै गौरवको पक्षमा आदेश गरेको थियो । यद्यपि, यति सबै हुँदा पनि गुण्डाहरूको राज चल्ने एन्फामा अदालतको आदेशलाई उपेक्षा गर्दै थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन आवश्यक पास उपलब्ध गराइएन । पास नभएकै कारण सभाहलमा प्रवेश नै गर्न नपाएपछि झगडाकै अवस्था सिर्जना भएको हो । अदालतको पत्र पनि बुझ्न नमानेको एन्फा अध्यक्ष नेम्वाङले न्यायालयकै उपहास गरेको थापाको भनाइ छ । यद्यपि, न्यायालयको निर्णय कार्यान्वयन गर्न निवेदकले आदेशको प्रतिलिपि बुझिरहनु नपर्ने थापा बताउँछन् ।

आफूलाई गेटैमा रोक्न आदेश दिने एन्फा नेतृत्वसँग छलफल गर्न खोजे पनि कोही बोल्न नमानेपछि साधारण धर्नामा बसेका थापाले सभाका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलाई ज्ञापन पत्र बुझाए छन् । घिसिङ भने पछाडिको गेटबाट सभाहल छिरेका थिए । थापालाई साथ दिँदै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङ्ग शाही तथा सदस्य रवीन्द्र चन्द र रुपेश अधिकारी पनि उद्घाटन समारोहमा सहभागी भएनन् ।

आफ्नै निर्देशनमा सभाहल बाहिर मुठभेडकै अवस्था बनिरहँदा कोठा भित्र लुकेरै सभाको उद्घाटन गरेका एन्फा अध्यक्ष नेम्वाङले अदालतको पत्र बुझ्न मानेका थिएनन् । तर, एन्फा भने आफूहरूलाई अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नै नभएको बताउँदै उम्किरहेको छ । साधारण सभामा उपस्थित हुन केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले थापालाई सभामा प्रवेश दिन नसकेको एन्फाको आलटाले जवाफ छ ।

फिफाले थापालाई सन् २०१५ अप्रिल १६ देखि लगाएको प्रतिबन्ध २०२५ अप्रिल १५ मा सकिएको थियो । १० वर्षको अवधिमा फुटबलका तमाम गतिविधिबाट टाढा रहेका उनी प्रतिबन्धको अवधि गुजारेपछि भने फेरि सक्रिय हुँदै आएका छन् । थापाले सामाजिक सञ्जालमार्फत एन्फाभित्रका अनियमितता र विसङ्गतिहरुबारे लेख्दै र बोल्दै आएका थिए । एन्फा भित्र भएको भ्रष्टाचार भण्डाफोर गर्ने अभियानमा जुटेका उनी साधारण सभामा उपस्थित भएर प्रत्यक्षरुपमा नेतृत्वको कर्तुत बाहिर ल्याउने तयारीमा थिए ।

तर, उनको रणनीतिलाई शक्तिको आडमा नेतृत्व पंक्तिले असफल बनाएका छन् । गुण्डागर्दीकै शैलीमा बढेको एन्फाको वर्तमान नेतृत्व उनको प्रयास रोक्न सफल भएको छ । नेपाली फुटबल र खेलाडीलाई तहसनहस बनाइसकेको नेम्वाङ र राईले अब कानुनलाई पनि अवमूल्यन गर्दै आफ्नो हातमा लिँदा एन्फाकै भविष्यमाथि खेलबाड भइरहेको छ । साथै यस्तै प्रवृत्ति कायम रहे एन्फाको मान प्रतिष्ठा पनि माटोमा मिल्न सक्ने खतरा मडारिन थालेको छ ।